सुरक्षा पन्त र मुकुन भुसाल अभिनीत फिल्म 'चमेलीको पोइ'को दोस्रो गीत सार्वजनिक गरिएको छ।
बिहीबार आशिष अविरल र मेलिना राईको युगल स्वरमा रहेको 'माया मान्छौ र..' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो। अविरलकै संगीत रहेको गीतका शब्द एकनारायण भण्डारीले लेखेका हुन्।
गीतको भिडिओमा सुरक्षा र मुकुन फिचर्ड छन्। मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। गीतले मायाप्रेमको कुरा गर्छ।
एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको 'चमेलीको पोइ' असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ। फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, रजनी गुरूङलगायत कलाकारहरूको अभिनय छ।
चर्चित हास्य अभिनेता नारायण त्रिपाठी 'प्रेमचरो' यो फिल्मबाट करिब डेढ दशकपछि ठूलो पर्दामा फर्किएका हुन्।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। शेरबहादुर तामाङको छायांकन, कुमार महर्जनको द्वन्द्व तथा बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा उदय विक्रम राणा, रितु मल्ल ठकुरी, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता छन्।
आरआर फिल्म्सले वितरण गर्ने 'चमेलीको पोइ'ले मनोरञ्जनसँगै जीवनोपयोगी सन्देशसमेत प्रस्तुत गर्ने निर्देशक बोहराले बताएका छन्।