फिल्म 'बाः एक योद्धा'को नयाँ प्रदर्शन मिति तय भएको छ।
भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको फिल्म अब असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। यसअघि बाढी प्रभावितका लागि दुई लाख रूपैयाँ सहयोग गर्दै फिल्मको प्रदर्शन मिति पछि सारिएको थियो।
निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि असोज ९ लाई नयाँ प्रदर्शन मिति तय गरिएको हो।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारहरूको अभिनय छ।
फिचर फिल्मतर्फ हरि लम्सालको यो पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता र कृष्ण काफ्ले सह-निर्माता छन्। शिवराम श्रेष्ठको छायाकंन, मित्र डि. गुरूङको सम्पादन रहेको फिल्मको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ।
तीन फिल्मबीच प्रतिस्पर्धा
असोज ९ मा अब 'बाः एक योद्धा'ले 'आचार्य' र 'जदौ'सँग प्रतिस्पर्धा गर्नेछ।
निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको 'आचार्य' एक्सन-ड्रामा जनराको फिल्म हो। यसमा निखिलसँगै पूर्णिका सिजापति, दीप राज राणा, प्रमोद अग्रहरी, रघुबाबु, रघु करूमान्चीलगायत कलाकारहरूको अभिनय छ।
त्यस्तै, 'जदौ' प्रेम, जातीय भेदभाव र पारिवारिक द्वन्द्वलाई केन्द्रमा राखिएको फ्यामिली ड्रामा हो। फिल्ममा ऋचा शर्मा, मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी मुख्य भूमिकामा छन्।