बलिउड अभिनेता ऋतिक रोशनले ओटिटी स्पेसमा निर्माताको रूपमा डेब्यु गर्ने भएका छन्।
प्राइम भिडिओसँगको सहकार्यमा निर्माण हुन लागेको थ्रिलर वेब सिरिजमा उनी निर्माता बनेका हुन्। शुक्रबार उक्त सिरिजको औपचारिक घोषणा गरिएको छ। वर्किङ टाइटल 'स्टोर्म' राखिएको सिरिज मुम्बईको पृष्ठभूमिमा आधारित हुनेछ।
यो ऋतिक रोशन र उनको ब्यानर एचआरएक्स फिल्म्ससँगको सहकार्यमा बन्नेछ। अजितपाल सिंहको सिर्जना र निर्देशन रहने सिरिजको कथा अजितपाल सिंह, फ्रान्कोइस लुनेल र स्वाती दासद्वारा लेखिएको हो।
'स्टोर्म' मा पार्वती थिरूभोथु, अलाया एफ, सृष्टि श्रीवास्तव, रमा शर्मा र सबा आजाद लगायत कलाकारहरूको मुख्य भूमिका रहनेछ।
ऋतिकले यस वेब सिरिजमार्फत स्ट्रिमिङमा निर्माताको रूपमा प्रवेश गर्न पाउनु आफ्नो लागि उत्तम अवसर भएको बताएका छन्।
उनले सिरिजले विश्वव्यापी दर्शकहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे। प्राइम भिडिओका गौरव गान्धीले ऋतिक रोशनसँगको यो सहकार्य कथावाचनमा उत्कृष्टता ल्याउने प्रतिबद्धताको महत्वपूर्ण माइलस्टोन भएको बताएका छन्। उनले सिरिजमा सशक्त महिला पात्रहरू र आकर्षक कथा रहेको उल्लेख गर्दै यो विश्वभरका दर्शकहरूमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरे।
सिरिजको छायांकन चाँडै सुरू हुनेछ र रिलिज मिति पछि घोषणा गरिनेछ।