बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ।
शनिबार सार्वजनिक ३ मिनेट २५ सेकेण्डको ट्रेलरमा एक्सन दृश्य, द्वन्द्व र बदला केन्द्रित कथावस्तुको झलक देखिन्छ। ट्रेलरमा समावेश एक्सन, थ्रिल र संवादले दर्शकलाई फिल्मको कथा झल्काउने प्रयास गर्छ।
'धुरन्धरः द रिभेन्ज' स्पाइ-एक्सन थ्रिलर फिल्म हो। यसले पाकिस्तानविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्छ।
सार्वजनिक गरिएको ट्रेलरमा रणवीर सिंहको पात्रले आफ्नो प्रभाव विस्तार गर्दै अपराध जगतमा प्रभुत्व जमाउने प्रयास गरेको देखिन्छ। यस क्रममा उनलाई नयाँ र अझ खतरनाक दुश्मनहरूसँग भिड्नुपर्ने परिस्थिति सिर्जना भएको देखाइएको छ। फिल्मको कथा पाकिस्तानको कराँचीस्थित लियारी टाउन वरिपरि फैलिएको आपराधिक संसार र जासुसी गतिविधिसँग जोडिएको देखिन्छ। यसको कथा फिल्मको पहिलो भागपछि अगाडि बढ्दै जानेछ।
समग्रमा भन्दा अन्डरकभर एजेन्ट बनेका मुख्य पात्रले अपराधी साम्राज्यभित्र प्रवेश गरेर दुश्मनहरूलाई परास्त गर्ने र आफ्नो मिशन पूरा गर्ने कथा फिल्मले प्रस्तुत गर्छ।
आदित्य धरको निर्देशनमा बनेको 'धुरन्धरः द रिभेन्ज' मा रणवीरसहित संजय दत्त, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ।
'धुरन्धर' पहिलो भागले बक्स अफिसमा ठूलो सफलता हासिल गरेको थियो। त्यसैको निरन्तरताका रूपमा निर्माण गरिएको सिक्वेल 'धुरन्धरः द रिभेन्ज' मार्च १९, २०२६ (चैत ५) देखि विश्वव्यापी प्रदर्शन तयारीमा छ। यो फिल्म हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा पनि एकैसाथ रिलिज हुनेछ।