भारतीय अभिनेता राम चरण फिल्म 'पेड्डी' मार्फत दर्शकमाझ आउने तयारीमा छन्।
निर्माण टिमले फिल्मको नयाँ रिलिज मिति घोषणा गर्दै पोस्टर पनि सार्वजनिक गरेको छ।
बुची बाबुद्वारा निर्देशित यो फिल्म सुरूमा अप्रिल ३० मा रिलिज हुने तय गरिएको थियो। तर निर्माताहरूले आइपिएलका कारण प्रदर्शन मिति सारेका थिए।
अब, निर्माताहरूले आइपिएल समाप्त हुने बित्तिकै यसलाई रिलिज गर्ने तयारी गरिरहेका छन्। फिल्म जुन ४ मा थिएटरहरूमा रिलिज हुने भएको हो।
नयाँ रिलिज मितिले अन्य दुई फिल्मलाई भने चुनौती थपिएको छ।
बबी देओलको 'बन्दर' जुन ५ मा थिएटरहरूमा रिलिज हुने तय छ। त्यस्तै, सोही दिन वरूण धवनको 'है जवानी तो इश्क होना है' पनि प्रदर्शनमा आउने तयारी छ। यस फिल्ममा मृणाल ठाकुर र पूजा हेगडे पनि मुख्य भूमिकामा देखिनेछन्।
खेलकुद ड्रामा 'पेड्डी' को छायांकन पूरा भइसकेको छ। फिल्ममा राम चरणसँगै जान्हवी कपूर मुख्य भूमिकामा छिन्। शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु शर्मा र बोमन इरानी पनि मुख्य भूमिकामा देखिनेछन्।
फिल्मको संगीत ए.आर. रहमानले तयार गरेका छन्। साथै श्रुति हासन पनि फिल्ममा देखिन सक्ने चर्चा छ।