बलिउड अभिनेता रणवीर सिंह र फिल्मकर्मीहरूको संस्था फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लुआईसीई) बीचको विवाद थप चर्किएको छ।
रणवीरले आफूविरूद्ध जारी गरिएको 'नन-कोअपरेसन' निर्देशनको विरोध गर्दै 'एफडब्लुआईसीई'लाई कानुनी नोटिस पठाएका छन्।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार रणवीरले जुन २ (मंगलबार) मा नोटिस पठाएका हुन्। नोटिसमा के माग गरिएको छ वा कुन आधारमा आपत्ति जनाइएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। तर यो कदमलाई रणवीरविरूद्ध जारी गरिएको ‘नन-कोअपरेसन’ निर्देशनविरूद्धको कानुनी प्रतिक्रिया मानिएको छ।
यसअघि 'एफडब्लुआईसीई' ले आफ्ना सदस्यहरूलाई रणवीर संलग्न कुनै पनि प्रोजेक्टमा काम नगर्न निर्देशन दिएको थियो।
यो विवाद फिल्म 'डन ३' सँग जोडिएको छ। निर्माता-निर्देशक फरहान अख्तर र निर्माता रितेश सिधवानीले रणवीरले निर्माणको तयारी चरणमा रहेको फिल्मबाट बाहिरिएपछि ठूलो आर्थिक क्षति हुन सक्ने भन्दै 'एफडब्लुआईसीई' समक्ष गुनासो गरेका थिए।
'एफडब्लुआईसीई' का अनुसार फिल्मको प्रि-प्रोडक्सनमा करिब ४५ करोड भारू खर्च भइसकेको निर्माताहरूले बताएका थिए।
रणवीरको बहिर्गमनले फिल्ममा असर पुग्ने र निर्मातालाई ठूलो आर्थिक नोक्सानी हुन सक्ने निष्कर्ष निकाल्दै संस्थाले उनीविरूद्ध असहयोगको निर्णय गरेको थियो।
'एफडब्लुआईसीई' का सल्लाहकार अशोक पण्डितले संस्थाले पटक-पटक सम्पर्क गर्न खोज्दा पनि रणवीरबाट कुनै प्रतिक्रिया नआएको दाबी गरेका थिए। यद्यपि बढ्दो आलोचनापछि उनले उक्त निर्णयलाई ‘'प्रतिबन्ध' नभई 'असहयोगको निर्देशन' मात्र भएको स्पष्ट पारेका छन्।
उता रणवीर पक्षले आधिकारिक वक्तव्यमार्फत फिल्म उद्योग र ‘डन’ फ्रेन्चाइजप्रति आफ्नो सम्मान कायम रहेको जनाएको छ। पछिल्ला घटनाक्रमबारे रणवीरले सार्वजनिक रूपमा भने कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०२३ मा घोषणा गरिएको 'डन ३' मा रणवीरलाई नयाँ ‘डन’ का रूपमा अनुबन्ध गरिएको थियो। विभिन्न कारणले ढिलाइ भएको फिल्मले सन् २०२५ को अन्त्यतिर मात्र प्रि-प्रोडक्सन प्रक्रिया सुरू गरेको थियो।
'एफडब्लुआईसीई' ले जुन ३ (आज) यो विवादको विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनसमेत आयोजना गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।