भारतीय अभिनेता राम चरण र अभिनेत्री जाहन्वी कपूर अभिनीत फिल्म 'पेड्डी' ले भारतमा २२५ करोड भारूभन्दा बढी नेट कमाइ गरेको छ।
४ जुनमा रिलिज फिल्मले प्रदर्शनको दुई हप्तामा उक्त कमाइ गरेको हो। यसले बलियो व्यापार गर्दै वर्ष २०२६ को सबभन्दा ठूलो साउथ इन्डियन फिल्मको रूपमा आफूलाई स्थापित गरेको छ।
ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार बुधबार मात्र फिल्मले १.९७ करोड भारू कमाइ गरेको छ। यससँगै भारतमा यसको कुल कलेक्सन २२५.५२ करोड भारू पुगेको हो।
पहिलो हप्तामा फिल्मले १९३.५५ करोड भारू कमाएको थियो। दोसो हप्तामा भने कमाइमा उतारचढाव देखिएको थियो। शुक्रबार ५.१५ करोड, शनिबार ८.१० करोड, आइतबार ९.२० करोड कमाइ भएको थियो। सोमबार ४.१० करोड र मंगलबार ३.४५ करोड कमाइ भएको जनाइएको छ।
'पेड्डी' ले यस वर्षको अन्य तेलुगु फिल्महरू जस्तै 'द राजा साब' र ‘उस्ताद भगत सिंह’ लाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको छ। साथै यसले तमिल फिल्म 'करूप्पु' लाई समेत उछिन्दै वर्षकै सबभन्दा धेरै कमाउने साउथ फिल्म बनेको छ।
ट्रेड रिपोर्ट अनुसार फिल्मले १३ दिनमा विश्वव्यापी रूपमा ३१७.१२ करोड भारू ग्रस कमाइ गरेको छ। यद्यपि, निर्माण पक्षले भने यसको कुल विश्वव्यापी कमाइ करिब ४०० करोड भारू पुगेको दाबी गरेको छ।
फिल्म 'पेड्डी' स्पोर्टस्-एक्सन ड्रामा हो। बुची बाबु सानाको लेखन तथा निर्देशन रहेको फिल्ममा राम चरण र जाहन्वीका साथमा शिवा राजकुमार, जगपति बाबु, दिव्येन्दु, बोमन इरानीलगायत कलाकारहरूको अभिनय छ।
'पेड्डी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।