भारतीय अभिनेता अजय देवगन अभिनीत फिल्म 'दृश्यम ३' ले अग्रिम टिकट बिक्रीबाटै १० करोड भारूभन्दा बढी आम्दानी गरेको छ। 'दृश्यमः द कन्क्लुजन' नाम राखिएको यो फिल्मले प्रदर्शनमा आउन तीन दिन बाँकी रहँदा उक्त आम्दानी गरेको हो।
'दृश्यम ३' अक्टोबर २ अर्थात् असोज १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।
भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार फिल्मले अग्रिम टिकट बिक्री खुला गरिएको ४८ घण्टामै भारतभर पहिलो सप्ताहन्तका लागि चार लाखभन्दा बढी टिकट बिक्री गरेको हो।
फिल्मको सेप्टेम्बर २७ देखि अग्रिम टिकट बिक्री खुला गरिएको थियो।
पहिलो दिन मात्रै एक लाख ६० हजार टिकट बिक्री गरेको फिल्मले दोस्रो दिन थप एक लाखभन्दा बढी टिकट बिक्री गरेको जनाइएको छ।
मंगलबार बिहानसम्म पहिलो दिनका लागि अग्रिम टिकट बिक्रीबाट मात्रै फिल्मले ६ करोड ६५ लाख भारू आम्दानी गरिसकेको छ। यो रकम अघिल्लो श्रृंखला 'दृश्यम २'को अन्तिम अग्रिम टिकट बिक्रीबाट भएको ५ करोड ९ लाख भारूभन्दा बढी हो।
अग्रिम टिकट बिक्रीको गति हेर्दा 'दृश्यम ३'ले यस वर्ष बलिउड फिल्ममध्ये अग्रिम टिकट बिक्रीमा उल्लेख्य आँकडा बनाउने देखिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
अभिषेक पाठक निर्देशित 'दृश्यम ३'मा अजय देवगनसँगै तब्बु, श्रिया सरन, रजत कपुर, इशिता दत्ता, मृणाल जाधव लगायतको अभिनय छ।
जयदीप अहलावत, प्रकाश राज र सौरभ शुक्ला यसपटक नयाँ कलाकारका रूपमा जोडिएका छन्। मलयालमको चर्चित 'दृश्यम'बाट सुरू भएको यो फ्रेन्चाइज हिन्दीमा अजय देवगनले अगाडि बढाएका हुन्।
'दृश्यम ३' नेपालमा समेत एकसाथ प्रदर्शनको तयारीमा छ।