भारतीय अभिनेता शाहरूख खानको बहुप्रतीक्षित एक्सन फिल्म 'किङ'मा दर्शकले अभिनेत्री करिना कपूरलाई पनि देख्न पाउने भएका छन्। करिनाले फिल्मका लागि शाहरूखसँग एक विशेष गीतमा नृत्य गर्ने भएकी हुन्।
भारतीय संचारमाध्यम पिंकभिल्लाको रिपोर्टअनुसार गीतको नाम 'ड्याडी कुल' राखिएको छ। उक्त गीतको छायांकन दक्षिण अफ्रिकामा गर्ने तयारी छ। करिनाले गीतका लागि करिब पाँच दिन समय छुट्याएको रिपोर्टमा उल्लेख छ।
गीतमा शाहरूख र करिनालाई यसअघि दर्शकले नदेखेको शैलीमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाइएको छ। भारतीयसँगै अन्तर्राष्ट्रिय कलाकारको पनि गीतमा सहभागिता रहने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय कलाकार र गायकको नाम भने हाल गोप्य राखिएको छ।
'ड्याडी कुल'मा सचिन-जिगरको संगीत रहने बताइएको छ। करिनाको सहभागिता भएमा शाहरूख र करिनाको करिब १५ वर्षपछि पर्दामा पुनर्मिलन हुनेछ। उनीहरू अन्तिमपटक सन् २०११ मा प्रदर्शन भएको फिल्म 'रा.वन'मा सँगै देखिएका थिए।
सिद्धार्थ आनन्द निर्देशित 'किङ'मा शाहरूखसँगै सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, अनिल कपुरलगायत कलाकारको अभिनय छ।
फिल्म डिसेम्बर २४, २०२६ (पुस ९) देखि प्रदर्शनमा आउने तयारीमा छ।
निर्माताहरू शाहरूखको जन्मदिनको अवसर पारेर नोभेम्बर २ आसपास 'किङ' को सामाग्री सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।