बलिउड अभिनेता शाहरूख खान विश्वका १०० महान् फिल्म स्टारको सूचीमा परेका छन्।
अमेरिकी मनोरञ्जन म्यागजिन 'भेराइटी'ले सार्वजनिक गरेको '१०० ग्रेटेस्ट मुभी स्टार्स अफ अल टाइम' सूचीमा शाहरूख ९२ औं स्थानमा परेका हुन्।
यो सूचीमा स्थान बनाउने शाहरूख एक्ला भारतीय अभिनेता हुन्। भेराइटीले शाहरूखलाई चार दशकदेखि भारतीय दर्शकलाई आफ्नो अभिनयमार्फत मोहित पार्दै आएका बलिउडका प्रभावशाली अभिनेताका रूपमा चित्रण गरेको छ।
९० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका शाहरूखले रोमान्टिक भूमिकादेखि कमेडी, चरित्रप्रधान अभिनय र पछिल्लो समय एक्सन स्टारका रूपमा समेत आफूलाई स्थापित गरेका छन्। उनको अभिनयमा देखिने शैली, आकर्षक व्यक्तित्व र हास्यचेतलाई म्यागजिनले उनको सफलताको प्रमुख पक्ष मानेको छ।
सन् १९९३ मा 'बाजीगर' र 'डर'जस्ता फिल्मबाट खलनायकका रूपमा चर्चामा आएका शाहरूख पछि रोमान्टिक अभिनेताका रूपमा लोकप्रिय भए। 'दिलवाले दुल्हनिया ले जायेंगे' र 'देवदास'जस्ता फिल्मले उनलाई विश्वभर चिनाए। भारतीय प्रशंसकले उनलाई 'किङ खान'को उपनाम समेत दिएका छन्।
सूचीको पहिलो स्थानमा अभिनेत्री मर्लिन मुनरो रहेकी छन्। दोस्रोमा हम्फ्रे बोगार्ट र तेस्रोमा चार्ली च्याप्लिन छन्। यस्तै, ज्याक निकोल्सन, क्याथरिन हेपबर्न, सिड्नी पोइटियर, मार्लन ब्रान्डो र टम क्रुजलगायत कलाकार शीर्ष स्थानमा छन्।
सूचीमा रोबर्ट डाउनी जुनियर ७४ औं, रायन गोसलिङ ७७ औं, रोबर्ट प्याटिन्सन ८३ औं र टिमोथी चालमेट ८६ औं स्थानमा छन्। शाहरुखभन्दा पछाडि जोकिन फिनिक्स ९३ औं, एम्मा स्टोन ९४ औं र जेन्डाया ९८ औं स्थानमा छन्।
शाहरूख अब निर्देशक सिद्धार्थ आनन्द निर्देशित एक्सन थ्रिलर फिल्म 'किङ'मा देखिँदैछन्। यो फिल्म डिसेम्बर २४ देखि विश्वव्यापी प्रदर्शनमा आउने तय छ।