उनले 'दिमाग खराब' फिल्मको 'हितैको माया' जस्तो मीठासपूर्ण गीत गाइसकेकी थिइन्। 'बेहुली फ्रम मेघौली' को 'उडायो मन' बोलको गीत निकै रूचाइएको थियो।
सुशान्त केसीसँगको सहकार्य रहेको 'बार्दली' गीतको लोकप्रियता उचाइमा थियो। यी गीतमार्फत गायिका इन्द्रकला राईको स्वर लाखौं, करोडौंमाझ पुगिसकेको थियो।
सुपरहिट गीतकी गायिका उनै इन्द्रकला तीन महिनाअघि एकाएक गायन रियालिटी शो 'भ्वाइस अफ नेपाल' को स्टेजमा देखिइन्। त्यो पनि प्रतिस्पर्धीका रूपमा, धेरैले आश्चर्य माने।
यस प्रकारका रियालिटी शोमा प्रायः हिट गीत गाइसकेकाहरू प्रतिस्पर्धीका रूपमा कमै देखिन्छन्।
त्यस बेला उनले भ्वाइसमा जानुको कारणबारे धेरैको जिज्ञासा मेट्दै भनेकी थिइन्, 'गायकहरूलाई धेरै समस्या भइरहेको हुन्छ। गीत चलेका हुन्छन्, मान्छेले धेरै सुनेका हुन्छन् तर गाउने व्यक्ति चिनिएको हुँदैन। यस कारण भ्वाइसलाई मैले चिनिने प्लेटफर्म ठानेर सहभागी भएकी हुँ।'
जब भ्वाइसको ब्लाइन्ड अडिसनमा उनले जादुमयी प्रस्तुति दिइन्, चारै जना कोच कुर्सी घुमाउन बाध्य भए। उनले कोचका रूपमा खेम सेञ्चुरी रोजिन् र भ्वाइसको स्टेजमा आफ्नो स्वरको जादु छरिरहिन्।
सेमिफाइनलसम्म पुगेर इन्द्रकला यो रियालिटी शोबाट बाहिरिइन्। यसमा उनी धेरै दुःखी छैनन्। किनकि आफू भ्वाइसमा जाँदै गर्दा जित्छु भनेर नगएको इन्द्रकला बताउँछिन्।
सेतोपाटीसँगको भिडिओ कुराकानीमा उनले भनिन्, 'मैले उपाधि जितिनँ होला। तर जे सोचेर गएकी थिएँ, जति पाउनुपर्ने थियो, सबै पाएँ। यो नै मेरा लागि जित हो।'
अहिले इन्द्रकलाको स्वरमा गीत रेकर्ड गराउन स्टुडिओमा पालो कुरेर बस्नेहरू ह्वात्तै बढेका छन्। उनका गीतहरू यत्रतत्र गुञ्जिएका छन्।
उलने यहाँसम्म आउन गरेको संघर्ष भने कठोर छ।
खोटाङ घर भएकी उनी चार/पाँच वर्षको उमेरमै काठमाडौं आइन्। यतै पढिन्, बढिन्। बुबा विदेशमा थिए, उनी, आमा र तीन बहिनीहरू यहाँ। सबै ठिकठाक चल्दै थियो, तर जब बुबाआमाको बीचमा असमझदारी हुन थाल्यो र पाँच वर्षअघि सम्बन्ध विच्छेद भयो, बहिनीहरू पढाउनेसँगै परिवारको जिम्मेवारी नै इन्द्रकलाको काँधमा आयो।
त्यस बेला लकडाउनको समय थियो, सहर ठप्पजस्तै थियो। यति बेला उनले कहिले बालुवा बोक्ने काम गरिन् त कहिले इँटा धुने र बोक्ने। पछि केही समय फाइनान्समा समेत काम गरिन्।
उनको सपना थियो — प्रसिद्ध गायिका बन्ने।
उनी कक्षा ६ मा पढ्दै बेला स्कुलमा भएको गायन प्रतियोगितामा उनी प्रथम भइन्। यसपछि उनलाई स्कुलबाट पनि प्रोत्साहन हुँदै गयो।
उनले बुझेकी थिइन्, सफलताका लागि धैर्य चाहिन्छ। तर उनलाई जिम्मेवारीले थिचेपछि धैर्य गरिरहन दिइरहेको थिएन। सोचेजस्तो नभएपछि सबैले भन्थे— अब विदेश जाऊ।
इन्द्रकला सम्झिन्छिन्, 'म जेठी छोरी भएकाले बहिनीहरूको भविष्यलाई लिएर पनि सोच्नुपर्ने थियो। सबैले विदेश जानुपर्छ भन्नुहुन्थ्यो। तर म यति अल्याङमल्याङ गरेँ कि अझै एक वर्ष, अझै एक वर्ष भन्दै बसेँ।'
उनी कभर गीत गाउँथिन्। त्यसलाई टिकटकमा राख्थिन्। ति भिडिओहरू भाइरल पनि भइरहेका हुन्थे। त्यही माध्यमबाट आफूलाई 'हितैको माया' गीतको प्रस्ताव पुगेको इन्द्रकला बताउँछिन्।
जयन जे. वाइवा, जो यस गीतका गीतकार तथा संगीतकार हुन्, उनैले इन्द्रकलालाई टिकटकमै म्यासेज गरेका थिए। र, भनेका थिए, 'फिल्मको एउटा गीत छ। तिम्रो एक्स्ट्रा टोन छ। एकदमै सुहाउँछ जस्तो लाग्छ।'
'यो गीत धेरैले मनपराए। यसपछि अन्य थुप्रै गीत गाएँ। तर सोचेजस्तो भइरहेका थिएनन्। पछि फेरि अर्को बेहुली फ्रम मेघौलीको गीत उडायो मन एकदमै राम्रो भयो,' इन्द्रकलाले भनिन्।
'बार्दली' गीतको सन्दर्भमा यसको अफर गायक सुशान्त केसी स्वयंले गरेका थिए। गीतबारे जानकारी दिँदै लेखेका थिए, 'हजुर फ्री हुनुहुन्छ/हुनुहुन्न? के छ विचार?'
ह्वाट्सएपमा गीत पठाए। इन्द्रकलालाई गीत निकै मनपर्यो। तर यो खालको गीत गाउन सक्छु/सक्दिनँ भन्ने चाहिँ रहेछ।
'जब रेकर्ड गरेँ। राम्रो भयो। गीत पनि निकै चल्यो। यस्तो राम्रो गीत गाउन पाउँदा एकदमै खुसी लाग्यो,' उनले भनिन्।
भारतको प्रसिद्ध टि–सिरिजमार्फत 'उफ्' नाम दिएर यसको हिन्दी भर्सन समेत सार्वजनिक भयो, जसले यति बेला निकै चर्चा पाइरहेको छ। यसबाट इन्द्रकलाको जादुमयी स्वर विदेशमा समेत गुञ्जिएको छ।
उनलाई लाग्छ — जीवनले कति बेला कस्तो मोड लिन्छ थाहै हुँदैन।
उनी भन्छिन्, 'धैर्य ठूलो कुरा हो। म विदेश जान थालेको समयमा अझै हुन्छ कि भनेर नकुरेको भए सायद यहाँ हुन्थिनँ। मैले बालुवा बोक्ने काम गर्दा पनि हार चाहिँ खाएकी थिइन्। त्यसबेला दुःख गर्दै थिएँ तर पनि म गुनगुनाइरहन्थेँ। त्यस बेला कसैले राम्रो गीत दिए पनि हुन्थ्यो भन्ने समेत लाग्थ्यो। अहिले सम्झँदा संघर्ष गर्नेलाई भगवानले पनि हेर्छन् कि भन्ने लाग्छ।'
त्यसैले उनी सपना बोकेर संघर्ष गरिरहेका व्यक्तिलाई भन्छिन्, 'संघर्ष गर्ने मान्छेले कहिल्यै पनि हुँदैन रहेछ भन्ने महसुस नगर्नुहोला। धैर्य भयो, निरन्तता भयो भने नहुने रहेनछ।'
अहिले इन्द्रकलाको जीवन सहज भएको छ। हिजो छोरीले संघर्ष गरिरहँदा सधैं उसको सपना पूरा हुँदैन कि भनेर अनुहार उज्यालो हुँदैन थियो उनकी आमाको। अहिले छोरीको सफलतामा आमाको मुहार उज्यालिएको छ।
'संगीतलाई पनि मर्न दिइनँ। सपना पनि पूरा गर्न पाएँ। जिम्मेवारी पनि निर्वाह गरेँ,' इन्द्रकला भन्छिन्, 'आगामी दिनमा अझै संघर्ष गर्न बाँकी छ। मलाई आउँदा दिनमा पछिसम्म सम्झिने खालका गीत गाउन मन छ।'
उनले थपिन्, 'यो मेरो स्वर भगवानको बरदान हो। मैले अहिलेसम्म म्युजिक पढेको छैन। अब संगीत सिक्न र आफूलाई थप निखार्न मन छ।'