फिल्म 'प्रेम गीत–३' रिलिजको एक वर्षपछि निर्माता तथा निर्देशक सन्तोष सेनले 'बलिदान' बनाउने उद्घोष गरे।
उनले पहिले प्रदर्शन मितिसहित थिम–पोस्टर ल्याए। त्यसको केही सातामा प्रि–टिजर रिलिज गरे। प्रि–टिजरमा दनदनी आगो बलिरहेको, दर्जनौं मानिसहरू ढलिरहेको र बसको छतमा राष्ट्रिय झण्डासहित एक पात्र उभ्याइएको थियो। पृष्ठभूमिमा देशभक्तिपूर्ण भावनाले ओतप्रोत 'न्यारेसन' सुनिन्थ्यो।
यसमा कलाकार को हो भन्नेबारे केही खुलाइएको थिएन। तैपनि घोषणादेखि नै फिल्मको चर्चा हुन थाल्यो।
२०८१ सालको दसैंमा फिल्म आउने भनेर घोषणा गरिसक्दा पनि सन्तोषले मुख्य कलाकार छानिसकेका थिएनन्। फिल्मको मुख्य पात्र सयौंसँग लड्न सक्ने योद्धा थियो। यो भूमिका सुहाउँदो कलाकार छान्न उनलाई सहज थिएन।
पात्र सुहाउँदो, सोचेजस्तो कलाकार खोजीमा सन्तोषले केहीसँग भेटघाट र छलफल गरे। कसैले धेरै समय दिन नसक्ने बताए। कसैले आफूलाई परिमार्जन गर्न गाह्रो हुने हो कि भन्ने जबाफ दिए।
'कुरा नमिलेपछि केही समय यो कामबाट पछि हट्यौं,' सन्तोषले दुई वर्षअघिको समय सम्झिँदै भने, 'रिलिज मिति पनि अर्को साललाई सर्यो।'
केही समयपछि उनको भेट अभिनेता विराज भट्टसँग भयो।
बलिदानको प्रि–टिजरमै धेरै दर्शकले यसका निम्ति सुहाउँदो पात्र विराज भट्ट भएको प्रतिक्रिया दिएका थिए। तर आमाछोराको परिवेशको कथा भएकाले यो विराजलाई मिल्दो पात्र थिएन। बीस/बाइस वर्ष उमेरको कलाकारको खोजीमा थिए सन्तोष।
विराटले उनलाई एउटा फोटो देखाएर भने, 'तिमीहरूलाई चाहिएको यस्तो क्यारेक्टर होइन?'
अग्लो कद, सुगठित शरीर भएको युवकको तस्बिरले सन्तोषको ध्यान तान्यो। ती व्यक्तिबारे जिज्ञासा राखे।
'दाइले ती व्यक्ति आफ्ना छोरा समीर भएको बताउँदा त म छक्कै परेँ। प्रेम गीत–३ रिलिज हुनुअघि मुम्बईमा हुँदा विराज दाइसँग धेरै संगत भएको थियो। तर कहिल्यै छोराबारे भन्नुभएको थिएन। सायद, म मात्र होइन, धेरैलाई विराज भट्टको छोराबारे जानकारी थिएन।'
सामाजिक सञ्जालमा समेत नरहेका समीरलाई विराजले मुम्बईमा राखेर वर्षौंदेखि 'ग्रुम' गरिरहेको सन्तोषले थाहा पाए।
विराजसँग केही चरणको भेटपछि भक्तपुरमा पहिलो पटक सन्तोष र समीर आमनेसामने भए। पात्रको एउटा माहोलबारे कुरा हुँदा समीरले तत्कालै भूमिका निर्वाह गरेर देखाइदिए।
'मलाई सुरूमै मान्छे राम्रो, अभिनयमा पनि यति खत्रा रहेछ भन्ने लाग्यो,' सन्तोषले भने।
त्यसपछि 'बलिदान' बाट समीरलाई डेब्यु गराउने तयारी भयो। तर प्रदर्शनका हिसाबले समीरको डेब्यु फिल्म '१२ गाउँ' बन्यो। गत वर्ष रिलिज भएको १२ गाउँले सुपरहिट हुँदै राम्रो कमाइ गर्यो। सँगै, फिल्म क्षेत्रमा समीरको धमाकेदार प्रवेश भयो।
काम गर्दै जाँदा बलिदानमा समय बढी लाग्ने भएपछि समीरले पहिले १२ गाउँमा काम गरेको सन्तोष बताउँछन्।
बलिदान घोषणा गर्नुभन्दा दुई वर्ष अघिदेखि नै सन्तोषले यसबारे सोचेका थिए। केही निर्देशकहरूसँग यसबारे कुरा समेत गरे। तर कोहीसँग कुरा मिलेन। अनि केही समय यो काम थाती राखे। प्रेम गीत–३ बनाए र कमेडी फिल्म 'हुतुतु' घोषणा रे।

प्रेम गीत–३ मा उनले भारतका चर्चित प्राविधिक, गायक तथा संगीतकारसँग काम गरिसकेका थिए। हिन्दी भाषामा पनि रिलिज भएको यो फिल्मका ठूला पोस्टर मुम्बई सहरमा टाँसिए। तरण आदर्शजस्ता बलिउडका दिग्गज समीक्षकले फिल्मबारे चर्चा गरे। भारतीय मिडियाहरूले लेखे।
प्रेम गीत–३ हिन्दीमा विश्वव्यापी रिलिज गरेर सन्तोषले एउटा छुट्टै माहोल बनाए। नेपाली फिल्मकर्मी र दर्शकले उनको आँटको तारिफ गरे।
यसपछि सन्तोषको भित्री मनले भन्न थाल्यो — मैले लभस्टोरी, फिक्सन फिल्म बढी बनाएँ। अब अलिकति देशको, माटोको सुगन्ध आउने देशभक्ति फिल्म गर्नुपर्छ।
उसो त उनलाई समीक्षकहरूले पनि बेला बेला भन्थे — यसले कन्टेन्टमा फिल्म बनाएन!
यी सबैले सन्तोषलाई बलिदान बनाउन प्रेरित गर्यो।
प्रेम गीत–३ स्वर्गीय छेतन गुरूङ र सन्तोषको संयुक्त निर्देशन थियो। त्यसैले उनका साथीहरूले बलिदान आफै निर्देशन गर्न सन्तोषलाई प्रोत्साहन गरे।
उनले मधेस आन्दोलनको पृष्ठभूमिमा रहेर यो फिल्म सोचेका थिए।
'म १६/१७ वर्षको उमेरमा लाहुरे हुन भारत गएको थिएँ। त्यो क्रममा बाटोमा भोगेको घटनाले फिल्मको आइडिया फुरेको थियो,' उनले भने।
उनको भोगाइलाई कथाको रूप दिए प्राध्यापक दर्शनले गरे। नेपालगञ्जको कलेजमा नेपाली साहित्यका प्राध्यापक दर्शनले यो पहिलोपटक यो कथा लेखेका हुन्।
सन्तोषले फिल्मका लागि इटहरीमा ठूलो सेट बनाए। दक्षिण भारतीय फिल्ममा काम गरेका छायाँकार, द्वन्द्व निर्देशक, कोरियोग्राफर सहितको टिम बोलाएर सहकार्य गरे। भारतको कोलकत्ताबाट कालिगढ झिकाएर मोरङमा ४२ फिट अग्लो कालीको मूर्ति बनाए। त्यहाँ मेला नै लगाएर फिल्मको क्लाइमेक्स खिचे।
छायांकनमै चार महिना लाग्यो।
'फिल्मप्रति दर्शकको ठूलो अपेक्षा छ। अनि विगतका फिल्ममा भएका गल्ती नदोहोर्याइ राम्रो बनाउने चुनौती हामीलाई भएकाले कुनै सम्झौता गर्ने छुट थिएन। दर्शकले हलबाट निस्किँदा स्वस्फुर्त ताली बजाउनुपर्छ, गर्व गर्नुपर्छ भन्ने हिसाबको काम गरेका छौं,' उनले भने।
आगामी फूलपातीमा प्रदर्शनमा आउने बलिदानको पहिलो चरणको सम्पादन र डबिङबाहेक अन्य सबै पोस्ट–प्रोडक्सनको काम अहिले मुम्बईमा चलिरहेको छ। बलिउडको ठूलो कम्पनी प्राइम फोकस र हलिउड कम्पनी डिनेकमा काम भइरहेको सन्तोषले बताए।
प्रेम गीत–३ झैं बलिदानलाई पनि हिन्दी भाषामा विश्वव्यापी प्रदर्शनमा ल्याउने तयारी छ।
'बलिउडको ठूलै कम्पनीसँग छलफल भइरहेको छ। केही दिनमा टुंगो होला,' हाल मुम्बई पुगेका सन्तोषले भने, 'यसपालि चाहिँ नेपाली र हिन्दी सँगै रिलिज हुँदैन। हिन्दी एक महिनापछि रिलिज गर्ने योजना छ।'
अहिले सन्तोष बलिदानको प्रचारमा पनि व्यस्त छन्। बलिदान नेपाली सिने क्षेत्रमा बहुप्रतिक्षित फिल्म बनेको छ।
सिने क्षेत्रमा प्रवेश गरेदेखि निरन्तर सक्रिय सन्तोषका फिल्मले चर्चा पनि पाइरहेकै छन्। उनी आँटिला, जोसिला र ठूलो स्तर तथा लगानीको फिल्म बनाउने फिल्मकर्मीका रूपमा चिनिन्छन्।
तर सन्तोषको जीवन जसरी अगाडि बढेको थियो, त्यो बाटोबाट उनले फिल्म क्षेत्र पुग्ने सोचेका थिएनन्। उनलाई रहर पनि थिएन।
भनिन्छ — जिन्दगी संयोगै संयोगको पुञ्ज हो।
सन्तोषको जिन्दगीमा पनि यस्तै संयोग आयो। उनको जीवनकथा पनि कुनै फिल्मी कथाभन्दा कम छैन!
उनी स्याङ्जामा जन्मिएका हुन्। परिवारमा खान, लाउन खासै गाह्रो थिएन। उनी गाउँमा हुँदा फिल्म खुब हेर्थे। एउटै फिल्म दिनमा तीन पटकसम्म पनि हेरे।
उनको गाउँठाउँमा त्यस बेला युवाहरू भारतीय सेनामा जाने चलन थियो। यो पेसामा भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास भएकाले सन्तोषका आमाबुबा पनि छोरो 'लाहुरे' बनोस् भन्ने चाहन्थे। त्यही सपना देख्दै सन्तोष, १७ वर्षको उमेरमा, २०६१–०६२ सालतिर घरबाट हिँडे।
भारतको सिलोङ जान उनी पोखराबाट काकडभित्ताको रात्रिबस चढे। माओवादीको सशस्त्र द्वन्द्व काल भएकाले त्यस बेला भित्री मधेसमा गाडीलाई प्रहरीले स्कर्टिङ गरेर लैजान्थ्यो।
'पहाडबाट मधेस छिर्ने गाडीमा तोडफोड हुन्थ्यो। सोही कारण चालकको सिट वरिपरि जाली लगाइएको हुन्थ्यो,' सन्तोषले सम्झिँदै भने, 'लाहुरे हुन हिँडेको म कलिलो केटो, एउटा जिल्लाबाट अर्को जिल्लामा पनि प्रहरीले गाडी स्कर्टिङ गरेर पठाउनुपरेको अवस्था देख्दा साह्रै नरमाइलो लागेको थियो।'
उनी सिलोङ पुगेर भारतीय सेनामा भर्ती भए।
सेनाको तालिम र जीवन उनलाई धेरै नै कठोर लाग्यो। पच्चीस किलोका ढुंगा र राइफल बोकेर पाँच/सात किलोमिटर हिँड्नुपर्थ्यो। झाडी काट्नुपर्थ्यो। यस्तै यस्तै कडा शारीरिक परिश्रमले घुँडा गलाउँथ्यो। बिदा पनि हुँदैन थियो। घरमा नियमित कुरा गर्न पाउँदैन थिए। उनलाई सेनाको जागिरले बाँधेझैं लाग्यो।
'जीवनको स्वतन्त्रता गुमेको सोच्दा सोच्दै म तनावमा पुगिसकेको थिएँ। त्यसपछि एक रात जागिर छाड्ने निर्णय लिएँ,' सन्तोषले भने।
दस महिना भएको थियो, उनी भागे। अनि नेपाल आए।

जागिर छाडेको र भागेकोबारे उनले परिवारलाई थाहा दिएनन्। सुटुक्क पासपोर्ट बनाएर उनी सिंगापुर गए। त्यहाँ उनका आफन्त दाइ थिए।
सिंगापुरमा छोटो समय काम गरेर उनी ब्रुनाइ पुगे। त्यहाँ पनि उनका नातेदार दाइ थिए जो त्यहाँका राजपरिवारको सुरक्षा समूहमा काम गर्थे। दाइले सन्तोषलाई पनि त्यही समूहमा काम लगाइदिए।
'दाइ राजपरिवारको विश्वास पात्र हुनुहुन्थ्यो। त्यहाँ काम धेरै गाह्रो पनि थिएन। दिनमा तीन–चार घण्टा गरे हुन्थ्यो,' उनले भने।
उनी करिब नौ वर्ष ब्रुनाइमा बसेर काम गरे। कमाइ पनि राम्रै भयो। त्यसपछि भने अब आफ्नै देशमा काम गर्ने भन्ने सोचेर नेपाल फर्किए।
नेपालमा आएर उनले काठमाडौंमा एउटा होटल चलाए। गाडी व्यवसाय पनि गरे। चार वटा माइक्रो बस किने र पोखरा–काठमाडौं चलाए। दस वटा ट्याक्सी किनेर चालकहरूलाई पोखरामा चलाउन दिए। तर सबै काममा निगरानी गर्न नसक्दा धेरै फाइदा भएन।
एक दिन काठमाडौंमा उनको भेट अभिनेता तथा निर्माता प्रेम पुरीसँग भयो।
'मलाई त फिल्मबारे केही थाहा थिएन। उसलाई भने फिल्मप्रति औधि नै लगाव रहेछ। ऊसँग सधैं नै फिल्मबारे कुरा हुन्थ्यो। अनि जोशै जोशमा फिल्म बनाउने भइयो,' उनले भने।
उनीहरूले फिल्मको कथा छाने। कलाकार अनुबन्ध गरे। फिल्मको वर्कसप चल्यो। गीतहरू पनि तयार पारे। लाखौं रूपैयाँ खर्च गरे। अचानक काम गर्ने मानिसहरूसँग कुरा मिलेन। फिल्म छायांकनमा नजाँदै काम रोकियो।
यसपछि उनीहरू निर्देशक सुदर्शन थापाकहाँ पुगेँ।
अनि फिल्म बनाए 'चंखे, शंखे, पंखे'।
'यो फिल्म सुपरफ्लप भयो। तर यसपछि मैले फिल्म निर्माणबारे बुझेँ,' उनले भने, 'यसपछि त साथीसंगीमाझ फिल्मभन्दा बाहिरी कुरै हुन छाड्यो। नशा नशामा फिल्म मात्रै दगुर्यो। अरू सबै काम छाडेर यसमा लागेँ।'
उनले फिल्म 'प्रेम गीत' बनाए। यो फिल्म चल्यो। मुख्य कलाकार प्रदीप खड्का र पूजा शर्मा एकाएक चर्चामा आए। यसपछि सन्तोषले प्रेम गीत–२, मेरी मामु, प्रेम गीत–३ बनाए र अहिले बलिदानसम्म आइपुगेका हुन्।
उनका अनुसार प्रेम गीत ५१ दिन चले पनि उनी घाटामै थिए। प्रेम गीत–२ ले चाहिँ पैसा कमायो। यसपछि उनलाई ए, पैसा पनि कमाइँदो रहेछ भन्ने भयो। अलि जोखिम लिँदा पनि केही फरक पर्दैन भनेर उनी नडराई लगानी गर्न थाले।
कलिलै उमेरमा भारती सेनामा जागिर खान स्याङ्जा घरबाट हिँडेका सन्तोष देश, विदेश चहार्दै अहिले नेपाली फिल्म क्षेत्रमा जमेका छन्। नयाँ फिल्म बलिदान आफ्नो करिअरकै 'ड्रिम प्रोजेक्ट' भएको उनी बताउँछन्।
'यसमा चार–पाँट वटा फिल्म बन्नेजतिको बजेट खर्च भएको छ। तर बजेटको कुरा भन्दा फिल्म कति स्तरीय बन्यो भन्ने चर्चा हुनुपर्छ। यसको निर्माणले त्यो कुरा देखाइहाल्छ,' उनले भने, 'बलिदान सुरू गरेर प्रदर्शनको मुखसम्म ल्याउनुमा म आफै गर्व गर्छु। अहिलेसम्म ६ वटा फिल्म बनाएँ, ती सबैमा भन्दा धेरै बढी यो एउटै फिल्ममा मेहनत गरेको छु। यो मेरो जीवनकै उत्कृष्ट र धेरै दर्शकको मनमा छाप छाड्ने फिल्म बन्छ भन्ने लाग्छ।'
फिल्मी–वृत्तमा सन्तोषबारे एउटा चर्चा छ— उनी प्रचारमा खप्पीस छन्।
यो कुरा उनी स्वीकार गर्छन्।
उनी फिल्म चल्न ती कुरा चाहिन्छ भन्छन् — ब्रान्ड, ब्रान्डिङ (मार्केटिङ) र कन्टेन्ट। र, अहिले बलिदानसँग यी तीन वटै कुरा भएको उनले बताए।
'ब्रान्डमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा लगायत कलाकार हुनुहुन्छ। निर्माण ब्यानर आँशुसेन फिल्मस् छ। कन्टेन्टमा अहिलेसम्म कसैले आँट नगरेको बलियो विषय छ। अब ब्रान्डिङ गर्नुपर्यो, त्यो सुरू हुँदैछ,' उनले भने।
बलिदान पाँच चरणमा प्रचारप्रचार गरिने र अहिले पहिलो चरणमा रहेको पनि उनले बताए।
'यो देशभक्ति भावना भएको एक्सन ड्रामा फिल्म हो। कतिपयले टिजर हेरेर दक्षिण भारतीय फिल्म जस्तो छ भनिरहेका छन्। हामीले काम गर्ने मानिसहरू उतैबाट ल्याएकाले पनि त्यस्तो लागेको होला। तर बलिदानमा नेपालीपन र माटोको सुगन्ध छ। नेपाली कथालाई त्यो स्तरमा बनाउन सकिँदो रहेछ भन्ने चाहिँ यो उदाहरण हुनसक्छ,' सन्तोषले भने।
तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी