गायक तथा सर्जक प्रकाश सपुत पछिल्ला वर्ष फिल्ममा बढी व्यस्त बने। 'परदेशी २', 'पूर्णबहादुरको सारंगी' हुँदै 'हरिबहादुरको जुत्ता', 'माइतीघर', 'सोल्टिनी' लगायतका फिल्ममा उनी अभिनेताका रूपमा देखिए। आफैले फिल्म 'बसन्त' निर्देशन गरे।
यो समयमा उनी देश–विदेशका स्टेज कार्यक्रमहरूमा खासै देखिएका थिएनन्।
अब भने उनी दुई वर्षको अन्तरालपछि पुनः स्टेजमा फर्किएका छन्।
उनले गत शनिबार दाङ र सोमबार कपिलवस्तुमा सांगीतिक प्रस्तुति दिए। बिहीबार सुनवल महोत्सवमा उनको प्रस्तुति रहनेछ। त्यसपछि कपिलवस्तु महोत्सव, सुदुरपश्चिम महोत्सवमा पुग्नेछन्।
प्रकाशले केही दिनअघि फेसबुकमा एक पोस्ट लेख्दै स्टेज कार्यक्रममा फर्किएको घोषणा गरेका थिए।
आफ्ना स्रोता/दर्शकसँग प्रत्यक्ष भेट्न नपाएकोमा न्यास्रो मान्दै प्रकाशले सामाजिक सञ्जालमा लेखेका छन्, 'ओहो, दुई वर्ष भएछ। दुई हिउँद यसै बिती गएछ! यो बीचमा तपाईंहरूलाई निकै सम्झिएँ। देशैभरिका सहर सम्झिएँ, गाउँघर सम्झिएँ!'
दर्शकको हँसिलो मुहार र रंगीचंगी पोसाकलाई निकै सम्झिएको प्रकाशले उल्लेख गरेका छन्। यात्राका दुःख-सुख, घुम्तीहरूमा भेटिने स-साना पसलका चिया-नास्ता र हाइवे छेउका छाप्रो होटलको खानाको स्वादलाई समेत उनले स्मरण गरेका छन्।
अगाडि भनेका छन्, 'गीतमा सँगै रोएको, हाँसेको, नाचेको सम्झिएँ। अब यसरी सम्झेरै बस्नुभन्दा यो वर्ष तपाईंहरूलाई भेट्नै आउने निधो गरियो।' प्रकाशका 'मिरमिरे', 'परालको आगो' लगायतका फिल्म प्रदर्शन हुन बाँकी छन्।