गायिका एलिना चौहानले आफूले ठूलो मेहनत र लगानीमा सञ्चालनमा ल्याएको 'रमणी बाइ एलिना' पुरानो ठाउँबाट हटाउनुपरेको बताएकी छन्।
एलिनाले यो महिलाकेन्द्रित फेसन स्टोर काठमाडौं नयाँ वानेश्वरमा साउन पहिलो सातादेखि संचालनमा ल्याएकी थिइन्। तर स्टोरको ओपनिङ भएको केही दिनमै उक्त ठाउँबाट हट्नुपर्ने अवस्था आएको उनले बताएकी छन्।
उनले अब नयाँ ठाउँबाट 'रमणी बाइ एलिना' सञ्चालनमा ल्याउने जानकारी दिएकी छन्। आफ्नो समस्या यसअघि सार्वजनिक नगरेकी एलिनाले परिस्थितिका कारण अहिले यसबारे बताउनुपरेको उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै एलिनाले आफूले भाडामा लिएको भवन पछि अर्कै पक्षको हातमा पुगेको बताएकी छन्।
'ओपनिङ भएको दुई-तीन दिनमै रमणी त्यो ठाउँबाट हटाउनुपर्छ भन्ने कुरा आयो,' उनले भनेकी छन्।
अचानक आएको परिस्थितिले केही समय आफू स्तब्ध भए पनि व्यवसायलाई निरन्तरता दिने निर्णय गरेको एलिनाको भनाइ छ।
'मैले फेरि आफैंलाई सम्हालें। कसरी हुन्छ, यसलाई अगाडि बढाउनुपर्छ भनेर रमणी अर्कोतिर खोल्ने निर्णय गरें,' उनले बताइन्।
एलिनाका अनुसार नयाँ ठाउँमा 'रमणी' सञ्चालनको तयारी भइरहेको छ। मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयको अगाडि नयाँ स्टोर खोल्ने तयारी गरिएको हो। करिब नौ-दस दिनमा नयाँ ठाउँबाट स्टोर सञ्चालनमा आउने उनले जानकारी दिएकी छन्।
अचानक आएको समस्याले केही समय आफूलाई पीडा दिए पनि दर्शक तथा शुभेच्छुकको मायाले फेरि अघि बढ्ने हिम्मत दिएको एलिनाले बताएकी छन्। 'त्यो समयमा मलाई एउटा कुराले हिम्मत दियो। त्यो भनेको दर्शकहरूको माया हो,' उनले भनिन्।
उनले नयाँ ठाउँबाट 'रमणी'लाई अझ व्यवस्थित रूपमा अघि बढाउने बताएकी छन्।
'रमणी'मा झन्डै २ करोड रूपैयाँ लगानी भएको एलिनाले बताएकी थिइन्।