भोटेकोसीमा आएको बाढीका कारण मञ्चन रोकिएको नाटक 'वीर गणेशमान' मंसिर ४ गतेदेखि पुनः मञ्चन हुने भएको छ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंसिर १९ गतेसम्म नाटक मञ्चन गरिनेछ। पुनः मञ्चनको तयारीसँगै निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि युट्युबमार्फत सार्वजनिक गरेको छ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरेका हुन्। नाटकमा ट्रेलर निर्माण गरी सार्वजनिक गर्ने चलन कमै भए पनि निर्माण पक्षले दर्शकलाई लक्षित गर्दै यसको औपचारिक ट्रेलर सार्वजनिक गरेको हो। नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि राखिएको छ।
सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकमा राणाशासन विरूद्धको आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्मका महत्वपूर्ण घटनालाई समेटिएको छ। जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र प्रजातन्त्र पुनःस्थापनापछि प्रधानमन्त्री बन्न अस्वीकार गरेको ऐतिहासिक प्रसंग पनि नाटकमा प्रस्तुत गरिएको छ।
करिब दुई घण्टा लामो नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी हुन्। निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्य यात्रामा पहिलोपटक बिम्ब र प्रतीकको शैलीभन्दा फरक यथार्थपरक प्रस्तुति दिएका छन्। नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बराल छन्। यसअघि भएको मञ्चनमा उनको अभिनयको प्रशंसा भएको थियो। दर्शकले उनको अनुहार र हाउभाउमा गणेशमान सिंहको झल्को पाएको प्रतिक्रिया दिएका थिए।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय छ।
भदौमा आयोजित प्रिमियरमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले नयाँ पुस्ताले नेपालको प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंहको योगदान बुझ्न यो नाटक हेर्नुपर्ने बताएका थिए।