शिक्षाको केन्द्रबिन्दुमा विद्यार्थी हुनुपर्नेमा इतिहासदेखि नै शिक्षालाई राजनीतिकरण गरेर शासकले आफ्नो प्रभुत्व कायम गर्ने परम्परा नै बनेको देखिन्छ। यस्तै स्थिति देखियो पहिलो लकडाउनपछि। आंशिक रूपमा बजार खुला भएपछि शिक्षा क्षेत्रमा अन्योलता देखिन्थ्यो।
काठमाडौं हुँदासम्म खासै केही समस्या लागेको थिएन। काठमाडौं छाडेर जति गाउँतिर लाग्दै गएँ, लकडाउन देखेर त्यति नै अनौठो लाग्दै गयो। होटल, रेस्टुरेन्ट, दोकानदेखि पूरै बजार खुला छ। बन्द छ त केवल विद्यालयहरू मात्रै।
संघ, प्रदेश, स्थानीय सरकार र यो सरकारभित्रको प्रशासनले सहकार्य गर्न नसक्दा समग्र शिक्षा नै अन्योलमा थियो। दुःखलाग्दो कुरा के भने समस्या समाधानमा योग्यताको कमीले होइन, पार्टीगत निहित चासोले अप्ठ्यारो बनाइरहेको थियो। विद्यालयमा पठनपठन सुरू गर्ने कि बन्द गर्ने भन्ने निर्णय पार्टीको तालमेल, पार्टी र सरकारसँगको नजिकपन र दुरीले निर्धारण गर्थ्यो।
शिक्षक पनि त्यही शक्तिको पक्षमा हुन्थे जसले विद्यालय बन्द गर्ने निर्णय वा सल्लाह दिन्थे। बेलाबेलामा अभिभावकले विद्यालय खोल्ने पक्षमाभन्दा पनि आफ्नो 'प्यारो' राजनीतिक दलको निर्णयलाई आँखा चिम्लिएर वकालत गरेको देख्दा मलाई अचम्म लाग्थ्यो।
पूर्ण रूपमा खुला हुँदा विद्यालय मात्रै बन्द गरेर कसरी विद्यार्थी वा आम जनता सुरक्षित हुन्छ भनेर मैले एक पालिकाका मेयरलाई सोधेँ।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%283%29.jpg)
उहाँले मुस्कुराउँदै भन्नुभयो, 'तपाईंसँग म सहमत छु। तर अब चुनाव छिट्टै आउँदैछ। यस्तो बेला मैले विवादमा आउने काम गर्नु हुँदैन। यही पालिकामा केही समयअगाडि एक जना मजदुर भारतबाट फर्किए। मेरो पालिकाको नागरिक भएकाले मैले सीमाबाट उनलाई आफ्नै गाडीमा ल्याएर आइसोलेसन केन्द्रमा राख्न लगाएँ। केही दिनपछि उनले आइसोलेसन केन्द्रभन्दा अलि पर रूखमा झुन्डिएर आत्माहत्या गरे। सबैलाई थाहा छ, उनको मानसिक स्थिति ठीक थिएन। तर विपक्षीले यसैलाई राजनीतिकरण गरेर मेरो नकारात्मक प्रचार गरिराखेका छन्।
आज एकथरीले विद्यालय खोल भनिरहेका छन्, अर्काथरीले अहिलेलाई स्थगन गर्नुपर्ने भनेका छन्। मलाई जे गर्दा फाइदा हुन्छ, त्यही गर्छु। अहिलेको परिस्थितिमा विद्यालय बन्द हुँदा मेरा लागि कम जोखिम हुने भएकाले पठनपाठन स्थगन हुनु नै बेस।'
समाजको उन्नतिको तर्कको केही ठाउँ नहुँदा हामी आक्रोश लुकाउँदै बिदा भयौं।
एकदिन राहत वितरणपछि गाउँको समसामयिक विषयमा कुरा भइराखेको थियो। बिस्तारै सबै जना आफ्नो बालबच्चाको परिवेशप्रति चिन्तित देखिन्थे। एक वर्षभन्दा धेरै भइसक्यो, विद्यालयमा पठनपाठन बन्द छ। बालबालिकाहरू खेत, पोखरी, गाउँभरि डुलिरहन्छन्। मोबाइलमा झुन्डिरहन्छन्। अपशब्द धेरै बोल्ने, झगडा गर्ने भएका छन् भन्दै चिन्ता व्यक्त गरिरहेका थिए अभिभावकहरू।
त्यसमै एक जनाले थपे- विद्यार्थीलाई निजी ट्युसन पढाएर पनि सन्तोषजनक विकास भएन।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%284%29.jpg)
बिहेदेखि श्राद्धसम्मको भोज हुने, हाटबजार लाग्ने, आवतजावतमा रोक नहुने, हुँदाहुँदा निजी ट्युसन पनि चल्ने। तर विद्यालयको पठनपाठन भने बन्द। शिक्षालाई हाम्रो समाजले सामान्यीकरण गरेको देख्दा निःशब्द भएँ। विद्यार्थी पनि विदेशमा मात्र भविष्य भएको र सानैदेखि पलायन हुने सोच्ने। ट्युसन पढाउँदा पनि विकास नभएपछि शिक्षकले विद्यार्थीको सिक्ने क्षमता नै नभएको भन्दा विद्यार्थी समाजमा हाँसोको पात्र हुने।
पढ्न, सिक्न र ठूलो मान्छे हुने रहर हुँदाहुँदै हामी यसबारे खासै भन्न सक्दैनौं। अधिकांश विद्यार्थीको अवस्था त्यस्तै थियो सायद।
त्यसैले सबैको कुरा सुन्दै, बुझ्दै मैले नवीनतम सिकाइ केन्द्र स्थापना गर्ने निधो गरेँ। देश भरका विद्यालय बन्द भएको बेलामा केही संघसंस्थान र सहयोगीहरूका साथमा समुदायमा हामीले यो केन्द्र स्थापना गर्यौं। करिब १५० विद्यार्थीलाई विषयगत सिकाइ अभिवृद्धि र अतिरिक्त क्रियाकलापमा सहभागी गरायौं। नेतृत्व विकाससँगै सकारात्मक सोच विकास गर्न हेतुले काम थाल्यौं।
छोटो समयमै विद्यार्थीमा सकारात्मक प्रभाव पर्यो। कोभिडपछि पनि समुदाय र विद्यार्थीबाट यसको निरन्तरता हुनु पर्नेमा जोड आयो। त्यसैले सहयोगको मात्रै अपेक्षा नगरी मैले व्यक्तिगत तवरबाटै केन्द्र सञ्चालन गरेँ। अहिलेसम्म यसमा मैले ८ लाख रूपैयाँभन्दा बढी लगानी गरेको छु।
सुरूमा मेरा सहकर्मी र सहयोगीले मलाई यो केन्द्र किन स्थापना गरेको भनेर सोध्दा मसँग जवाफ थिएन। अहिले तालिम लिएका ९० प्रतिशत युवा रोजगारका कारण आर्थिक रूपमा आफ्नो र परिवारको टेवा भएका छन्। यसको उद्देश्य वैकल्पिक शिक्षण सिकाइ स्थल स्थापना गर्ने थियो। स्थानीय विद्यार्थीले विद्यालय बन्द हुँदा पनि निरन्तर पढ्नेसँगै चौतर्फी प्रगति गर्ने वातावरण पाओस् भन्ने उद्देश्य थियो।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%2810%29.jpg)
सुरूमा के, कसरी र कसले पढाउने भन्ने केही स्पष्ट थिएन। हामीले हाम्रो आफ्नै सिकाइ र अनुभवहरू पछ्याउँदै 'हिट एन्ड ट्रेल' विधि मार्फत काम गरिरहेका थियौं। हामी धेरै सन्दर्भहरू पछ्याउन खोज्थ्यौं तर स्पष्टताको अभावमा तनाव उत्पन्न हुन्थ्यो।
मलाई थाहा थियो, यदि हामीमा नवीनताको भोक छ भने स्पष्टताका बाटा धेरै नै हुन्छन्।
स्थानीय सामुदायिक विद्यालयमा एकभन्दा बढी शैक्षिक सत्रदेखि नै विज्ञान र अंग्रेजी शिक्षक थिएनन्। नयाँ शिक्षक नियुक्तिको प्रक्रिया जटिल भएको विद्यालयमा पद नै रिक्त भएको थाहा पाएँ। पछि केन्द्रमा आंशिक र पूर्ण रूपमा विज्ञान, गणित, अंग्रेजी विषय पढ्ने वातावरण बनायौं। विद्यार्थी र समुदाय आर्थिक रूपमा योगदान गर्न इच्छुक नभएका बेला सहयोगको अभावमा यो कार्यक्रम सञ्चालन गर्न निकै महँगो भयो।
दिगोपनका लागि हामी अझै पनि 'अप्टिमाइजेसन' ल्याउन खोज्दै फरक मोडलमा काम गरिरहेका छौं। स्थानीय युवालाई संलग्न गराउने र प्रविधिलाई एकीकृत गर्ने मिश्रित अभ्यास हामीले नवीनतम सिकाइ केन्द्रमा कार्यान्वयन गरिरहेका छौं।
गाउँसमाजमा आफैं बसेर काम गर्दा औपचारिक-अनौपचारिक रूपमा सबैसँग सम्बन्ध बढ्दै गयो। समुदायमा धेरै जनाले मलाई सम्पर्क गरी आफ्ना सन्तानलाई कतै रोजगारका लागि सिफारिस गर्नसम्म अपेक्षा राख्न थाले। दुःखको कुरा, सिफारिस गरिएका युवामा खास सीप तथा योग्यता थिएन। त्यसैले गाउँमै रोजगारमूलक तालिम सिर्जना गर्ने उद्देश्यले एक संस्थान र पालिकासँग समन्वय गरी २७ जनालाई ३९० घन्टाको सिटिइभिटी पाठ्यक्रम अनुसारको तालिम दिन सफल भयौं।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%285%29.JPG)
यो केन्द्र दक्ष जनशक्ति निर्माण गर्ने, स्थानीय युवाहरूको क्षमता अभिवृद्धि गर्ने र बहुआयामिक रूपमा विद्यार्थीको सिकाइ अभिवृद्धि गर्ने उद्देश्य बोकेको वैकल्पिक मोडल हुन सक्छ।
एक शैक्षिक क्यालेन्डरको लागि लकडाउनका समयमा, दोलखा जिल्लाको एउटा विद्यालयमा कार्य अनुसन्धानबाट सिकेका सिकाइलाई कार्यान्वयन गरेर हामीले प्रभावकारी कक्षाकोठाका लागि प्रविधिलाई एकीकृत गर्न विद्यमान शिक्षकलाई सशक्त बनाउन यस प्रकारको केन्द्रको उपयोग पनि गर्न सक्छौं।
यो पहलको सबैभन्दा राम्रो पक्ष के भने यसको जरा समुदायसँग जोडिएको छ। हामीले प्राविधिक जटिलतालाई नपछ्याइकन समुदायको आवश्यकताअनुसार अनुकूलता विकास गर्नु नै उद्यमशीलताको उदाहरण मान्न सकिन्छ। र, यो सुरूआत मात्रै हो। यसलाई स्थापित गर्न अथक प्रयास गर्नुपर्छ।
क्रमशः
भाग १- राहत वितरणले सिकाएको पाठ
भाग २- अनि मैले 'एम्बुलेन्स' बनाएको गाडी बेचिदिएँ
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%281%29.png)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%287%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%288%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%2811%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%2813%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Shailendra/shailendra%20%2814%29.jpg)
(शैलेन्द्र झाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @sailjha
शैलेन्द्र झा