जनैपूर्णिमा आउन अझै केही दिन बाँकी थियो। गाउँमा भने त्यसको चहलपहल सुरू भइसकेको थियो।
कोही झोला मिलाउँदै थिए, कोही बाटोका लागि खानेकुरा जोहो गर्दै थिए, कसैले लौरो तयार पारेका थिए भने कसैले भारी बाँधिरहेका थिए।
वर्षौंदेखि जनैपूर्णिमामा मेमेपोखरी पुग्दै आएका गाउँलेहरूका लागि यो परिचित यात्रा थियो, मेरा लागि भने पहिलोपटक खुल्न लागेको एउटा अपरिचित हिमाली अध्याय।
म पनि उनीहरूसँगै यात्रामा मिसिएँ।
हाम्रो उद्देश्य जनैपूर्णिमाको बिहान घरबाट हिँड्नु थिएन, त्यो दिनसम्म त हामीले मेमेपोखरी पुगिसक्नुपर्ने थियो। त्यसैले केही दिनअघि नै गाउँबाट उकालो समातेका थियौं, ताकि जनैपूर्णिमाको अघिल्लो दिन बेलुकीसम्म पोखरी पुग्न सकियोस्।
लमजुङको दोर्दी गाउँपालिका–७ मा पर्ने मेमेपोखरी समुद्री सतहबाट करिब ४,४५६ मिटर उचाइमा छ। हिमालचुली र मनास्लुको हिमाली परिवेशले घेरेको त्यो पोखरीसम्म पुग्नु कुनै सामान्य घुमफिर होइन। सडक जहाँ टुंगिन्छ, त्यहीँबाट यसको वास्तविक यात्रा सुरू हुन्छ।
पर्यटन प्रवर्द्धनको कुरा आउनासाथ उत्साहित हुने, दोर्दी गाउँपालिका स्थायी घर भएका विष्णुकान्त घिमिरे दाइले स्थानीयसँग समन्वय गर्दै हाम्रो यात्राको सम्पूर्ण चाँजोपाँजो मिलाइदिनुभएको थियो।
काठमाडौंको भीड, बेंसीसहरको चहलपहल र मोटरबाटो क्रमशः पछाडि छुट्दै गए। नौथर–शेरा वा हिलेबेँसी हुँदै खिन्चोकबेँसी पुग्दासम्म मोटरले साथ दिन्छ, त्यसपछि भने मानिसको पाइला नै दूरी नाप्ने साधन बन्छ। खिन्चोक गाउँ मेमेपोखरीतर्फको प्रवेशद्वारजस्तै लाग्यो, जहाँ घर, आँगन, गोठ र मान्छेको सरल व्यवहारमा पहाडको आत्मीयता भेटिन्थ्यो।
हामीसँग विभिन्न उमेरका गाउँले थिए। कसैको काँधमा सामान, कसैको हातमा लौरो, कसैको पिठ्यूँमा भारी। उनीहरूको हिँडाइमा हतार थिएन, तर वर्षौंदेखिको अभ्यास र गन्तव्यप्रतिको विश्वास थियो।

सायद ती पाइलाले यो बाटो हामीभन्दा धेरै अघिदेखि चिन्थे।
खिन्चोकबाट उकालो लागेपछि जंगल बाक्लिँदै गयो। बाटो कहिले खोल्सा, कहिले चरन क्षेत्र र कहिले लेकाली गोठ हुँदै अघि बढ्थ्यो। जंगली फूल, जडीबुटी र भिजेको माटोको गन्धले लामो बाटोलाई आफ्नै किसिमको जीवन दिइरहेको थियो। थकाइ शरीरमा थपिँदै थियो, तर आँखाले प्रत्येक मोडमा नयाँ दृश्य भेटिरहेकै थिए।
कतिपय ठाउँमा घाँस काटेर बाटो सफा गरिएको थियो भने बिग्रिएका खण्ड स्थानीयले मर्मत गरेका थिए। खिन्चोकबेँसीको सितल आमा समूह, खिन्चोक गाउँको दोर्दी आमा समूह र स्थानीय युवा क्लबहरूले मेमेपोखरी जाने तीर्थयात्री तथा पदयात्रीलाई सहज होस् भनेर बाटोमा श्रम गर्दै आएका रहेछन्। गाउँका युवाहरू विदेशिने क्रम बढिरहेका बेला आफ्नै गाउँको बाटो, संस्कृति र पर्यटन जोगाउन उनीहरूले गरेको श्रमले मन छोयो।
पर्यटनका ठूला योजनाभन्दा गाउँलेले आफ्नै हातले खोलेको बाटोमा कहिलेकाहीँ ठूलो सपना लुकेको हुन्छ।
लामो हिँडाइपछि हामी बाह्रपोखरी क्षेत्रमा पुग्यौं। करिब ३,१०० मिटरको उचाइमा दिनभरिका उकाली–ओरालीले शरीर थाकिसकेको थियो। गोठ र धर्मशालाले त्यो रात आश्रय दिए। सहरको होटलजस्तो सुविधा थिएन, तर पहाडको चिसो साँझ, स्थानीय मानिससँगको कुराकानी र अँध्यारोमा डुबेको लेकले त्यो रातलाई कुनै विलासी कोठाभन्दा स्मरणीय बनाइदियो।
अर्को दिन उकालो अझ कठोर हुँदै गयो। बाह्रपोखरीबाट कोम्रो डाँडातर्फ चढ्दै गर्दा उचाइले आफ्नो उपस्थिति महसुस गराउन थाल्यो। हावा पातलिँदै गयो, सास छोटिन थाल्यो र पाइला स्वाभाविक रूपमा ढिलो भए। करिब चार हजार मिटर आसपास पुग्दा शरीरलाई हतारभन्दा विश्रामको आवश्यकता बढी रहेछ भन्ने बुझिन्थ्यो।
हिमालसँग प्रतिस्पर्धा गर्न सकिँदैन; उसको लयमा मिलेर हिँड्नुपर्छ।
बिस्तारै हिँड्ने, पानी पिउने, शरीरलाई आराम दिने र आफ्नै अवस्था बुझ्ने, त्यहाँको सरल नियम यही थियो। कोम्रो डाँडाको धर्मशालामा रात बिताउँदा शरीर थाकेको थियो, तर मन भने भोलिको गन्तव्यको प्रतीक्षामा थियो। उचाइसँगै अर्को संसार पनि क्रमशः टाढिँदै गएको थियो, मोबाइलको नेटवर्क हराइसकेको थियो, विद्युत् र चार्जिङको सुविधा थिएन।
सहरसँगको सम्पर्क टुट्दै जाँदा प्रकृतिसँगको सम्पर्क भने झन् गाढा हुँदै गयो। हावाको सुस्केरा, चराचुरूङ्गीको आवाज र पहाडको गहिरो मौनता स्पष्ट सुनिन्थे। सायद यात्राको अर्थ यही पनि हो, हामीले केही गुमायौं जस्तो लाग्ने ठाउँमै आफूले धेरै समयदेखि हराइरहेका कुरा फेरि भेट्नु।
जनैपूर्णिमाको अघिल्लो दिन हाम्रो यात्राको सबभन्दा प्रतिक्षित दिन थियो। कोम्रो डाँडाबाट बिहानै मेमेपोखरीतर्फ पाइला बढायौं। देउराली, छवी गौँडा, लेकाली भूभाग र निरन्तर उकाली–ओराली पार गर्नुपर्ने थियो। धेरै दिनको यात्रा शरीरमा जम्मा भइसकेको थियो, तर गाउँलेहरूको अनुहारमा गन्तव्य नजिकिएको उत्साह स्पष्ट देखिन्थ्यो।

घाम पश्चिमतर्फ ढल्किन थालेपछि चिसो हावा अझ धारिलो भयो। दिनको उज्यालो पहाडका काँधपछाडि हराउन थालेको थियो। अनि अन्ततः बेलुकीपख, धेरै दिनको हिँडाइपछि, मेमेपोखरी हाम्रो आँखाअगाडि खुल्यो।
हिमालको काखमा निश्चल बसेको पानी, वरिपरि खुला लेक र माथि फैलिएको विशाल आकाश।
त्यो क्षण शब्दभन्दा अनुभूति ठूलो थियो। दिनौंको उकालो, जंगल, पसिना र चिसो पार गरेर अगाडि देखिएको पोखरीले गन्तव्यमा पुगेको मात्र होइन, एउटा लामो परीक्षा पार गरेको अनुभूति दिलायो। शरीरको थकाइ तत्काल हराएन, तर त्यसको अर्थ बदलियो।
जनैपूर्णिमाको अघिल्लो साँझ भएकाले त्यहाँ हामी मात्र थिएनौं। विभिन्न गाउँबाट आएका श्रद्धालुहरू क्रमशः भेला भइरहेका थिए। कसैले धर्मशालामा ठाउँ मिलाउँदै थिए, कसैले खाना बनाउँदै थिए, कतै पूजा सामग्री तयार हुँदै थियो। लेकको चिसो रातमा मानिसहरूको उपस्थितिले पोखरी आसपास छुट्टै जीवन थपेको थियो।
भोलिपल्ट बिहान जनैपूर्णिमा थियो।
सूर्यको पहिलो उज्यालोसँगै श्रद्धालुहरू पोखरीतर्फ लाग्न थाले। चिसो पानीमा स्नान गर्ने, पूजाआजा गर्ने र आफ्नो आस्थाअनुसार धार्मिक कर्म गर्ने क्रम सुरु भयो। ४,४५६ मिटर उचाइको कठोर हिमाली भूगोलमा त्यति धेरै मानिसलाई विश्वासले एउटै ठाउँमा ल्याएको दृश्य आफैंमा अद्भुत थियो।
त्यस बिहान मेमेपोखरी केवल एउटा सुन्दर हिमाली पोखरी रहेन। त्यो पुस्तौंदेखि मानिसहरूलाई कठिन उकालो पार गराउँदै यहाँसम्म ल्याइरहेको आस्थाको थलो, परम्पराको निरन्तरता र सामाजिक भेटघाटको स्थल थियो। यात्राभरि गाउँलेहरूसँग हिँड्दा मैले महसुस गरेको एउटा कुरा त्यहाँ पुगेर अझ स्पष्ट भयो, पहाडमा आस्था व्यक्तिगत भए पनि यात्रा सामूहिक हुँदो रहेछ।
कोही पछाडि पर्दा अर्को मानिस पर्खिन्थ्यो। कसैको भारी गह्रौं हुँदा सहयोग गर्ने हात निस्कन्थ्यो, थकाइमा विश्राम साझा हुन्थ्यो। बाटो कठिन हुँदै जाँदा मानिसहरू एकअर्कासँग झन् नजिकिँदै जान्थे।
मेमेपोखरी आसपासको संसार एउटा पोखरीमा मात्र सीमित छैन। यहाँ नरसिंगा ताल, तरवाल ताल, दूध कुण्ड र बराह पोखरीजस्ता उच्च हिमाली जलाशयहरू छन्। मौसम खुलेका बेला हिमालचुली, मनास्लु, लमजुङ तथा अन्नपूर्ण हिमशृंखलातर्फका दृश्य खुल्छन्। बिहान र साँझ हिमालमा पर्ने प्रकाशले यो भूगोललाई प्रत्येक क्षण फरक बनाइदिन्छ।

तर मेमेपोखरीको सौन्दर्य हिमाल र पानीले मात्र बनाएको होइन। त्यहाँ पुग्ने बाटोमा भेटिने गाउँ, भेडी र भैँसीगोठ, जंगल, जडीबुटी, मौसमी फूल र ती सबैसँग जीवन जोडेर बसेका मानिस पनि यसको कथा हुन्। घले, गुरुङ, तामाङ, मगर तथा ब्राह्मण–क्षेत्री समुदायको संस्कृति र ग्रामीण जीवनसँग जोडिएको यही यात्राले मेमेपोखरीलाई अरू धेरै पदमार्गभन्दा अलग बनाउँछ।
यहाँ यात्रुले दृश्य मात्र हेर्दैन, जीवन पनि हेर्छ। गोठालोको दिनचर्या देख्छ, गाउँको आतिथ्य अनुभव गर्छ र सुविधाबाट क्रमशः टाढिँदै जाँदा प्रकृतिसँग नजिक हुनुको अर्थ बुझ्छ।
जनैपूर्णिमाको भीडले केही आवश्यकता पनि स्पष्ट देखायो। माथिल्लो क्षेत्रमा खानेपानी, शौचालय, स्वास्थ्य सेवा, फोहोर व्यवस्थापन र आकस्मिक उद्धारजस्ता पूर्वाधार अझ व्यवस्थित हुन जरुरी छन्। मोबाइल नेटवर्क, विद्युत्, खाना र बासका विकल्प पनि सीमित छन्, त्यसैले मेमेपोखरी सुविधा खोजेर होइन, तयारी र धैर्य लिएर पुग्नुपर्ने गन्तव्य हो।
सायद यही अभाव यसको आकर्षण पनि हो।
नेपालका धेरै प्रसिद्ध पदमार्गमा अहिले होटल, वाइफाइ र आधुनिक सुविधा पुगेका छन्। मेमेपोखरीमा भने अझै यात्राले आफ्नो मौलिक स्वरूप धेरै हदसम्म जोगाएको छ। यहाँ गन्तव्यभन्दा बाटो ठूलो छ, प्रकृतिलाई बाहिर बसेर हेर्ने होइन, प्रकृतिभित्रै प्रवेश गरेर हिँड्नुपर्छ।
दोर्दी गाउँपालिकाले मेमेपोखरी कल्चरल ट्रेलमार्फत यही प्रकृति, ग्रामीण जीवन र स्थानीय संस्कृतिलाई पर्यटनसँग जोड्ने प्रयास गरिरहेको छ। अझ विस्तृत बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स ट्रेलको अवधारणाले यस क्षेत्रलाई भविष्यमा ठूलो हिमाली पदयात्रा सञ्जालसँग जोड्ने सम्भावना देखाउँछ। तर विकास आउँदा यहाँको आत्मा हराउनु हुँदैन।
बाटो सहज बनोस्, तर पहाडको चरित्र नमेटियोस्। पर्यटक बढून्, तर गोठ र गाउँ विस्थापित नहून्। होमस्टे चलून्, स्थानीय उत्पादन बिकून्, युवाले गाउँमै रोजगारी पाऊन् र पोखरीको पानी आजजस्तै स्वच्छ रहोस्।
जनैपूर्णिमाको पूजा सकेर फर्किने बेला मैले एकपटक मेमेपोखरीतर्फ फर्केर हेरेँ। अघिल्लो साँझ त्यही पोखरी देख्दा धेरै दिनको हिँडाइ समाप्त भएको अनुभूति भएको थियो, त्यो बिहान फर्केर हेर्दा भने यात्रा अझै मनभित्र जारी रहेको महसुस भयो।
शहर फर्किएपछि कसैले सोध्ला, 'मेमेपोखरी कस्तो रहेछ?'
म भन्न सक्छु-सुन्दर। तर त्यो शब्द अत्यन्त सानो हुनेछ। मेमेपोखरी पुग्दा शरीर थाक्छ, नेटवर्क हराउँछ, सुविधा सकिँदै जान्छ र मौसमले परीक्षा लिन्छ। तर त्यही अभावका बीच गाउँलेको साथ, गोठको न्यानोपन, जंगलको गन्ध, उचाइको मौनता र जनैपूर्णिमाको आस्था मानिसभित्र कतै गहिरो गरी बस्छन्।
त्यसैले मेरा लागि मेमेपोखरी एउटा पोखरी मात्र रहेन। यो हिँडेर बुझिने भूगोल, विश्वासले बाँचेको संस्कृति र गाउँलेको श्रमले जोगिएको बाटो हो। अनि जनैपूर्णिमाको अघिल्लो साँझ थकित पाइला लिएर त्यहाँ पुग्दा मात्रै बिस्तारै खुल्न थाल्ने एउटा हिमाली कथा पनि।
