झापाको दमक नगरपालिका–१० का विष्णु रायमाझी अहिले अमेरिकाको भर्जिनिया राज्यस्थित ह्यारिसनवर्ग सहरमा रहेर औषधि अनुसन्धान क्षेत्रमा काम गर्दै आएका छन्।
उनी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) सम्बन्धी क्यान्सर तथा खराब कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधिको अनुसन्धान र विकासमा संलग्न वरिष्ठ वैज्ञानिक हुन्।
विगत ६ वर्षदेखि उनी विश्व प्रसिद्ध मानिने मर्क फर्मास्युटिकल्स कम्पनीमा कार्यरत छन्।
मर्क फर्मास्युटिकल्स विश्वभर औषधि, खोप तथा स्वास्थ्य सम्बन्धी उत्पादनको अनुसन्धान, विकास र उत्पादन गर्ने बहुराष्ट्रिय औषधि कम्पनी हो। कम्पनीका शाखा तथा उत्पादन केन्द्रहरू विश्वका करिब १४० भन्दा बढी देशमा विस्तार भएका छन्।
'हाम्रा उत्पादनहरू विश्वका अधिकांश देशमा बिक्री तथा वितरण हुँदै आएका छन्,' उनले भने, 'मर्कले विशेषगरी क्यान्सर, संक्रामक रोग, हृदय रोग लगायत विभिन्न जटिल रोगहरूको उपचारका लागि नवीन औषधि र खोप विकास गर्छ।'
खोप तथा औषधि अनुसन्धान विभागमा काम गर्ने विष्णुको विभागमा ७८ जना वैज्ञानिकको टिम छ। टिममा नेपाली मूलका आफू मात्र भएको उनले बताए।
सन् २०२० मा कोरोना महामारी सुरू भएपछि उनी उक्त कम्पनीमा प्रवेश गरेका हुन्। आफूलाई विशेषगरी कोरोनाको भ्याक्सिन अनुसन्धान तथा उत्पादनकै लागि उक्त कम्पनीले छनोट गरेको विष्णु बताउँछन्।
'कोरोना भ्याक्सिन प्रोजेक्टका लागि वैज्ञानिकको आवश्यकता भनेर भ्याकेन्सी खुलाएको थियो,' विष्णुले सुनाए, 'मैले आवेदन दिएको थिएँ, दुई चरणमा अन्तर्वार्ता लिएर छनोट गर्यो।'
उनका अनुसार त्यस समय जोन्सन एन्ड जोन्सनसँगको सहकार्यमा कोरोना भ्याक्सिनको अनुसन्धान गरिएको थियो। उनले कोरोना भाइरसको प्रभाव कम गर्ने औषधि तथा एचपिभी सम्बन्धित क्यान्सरविरूद्धको भ्याक्सिन विकासमा पनि काम गरेका छन्।
हाल उनी खराब कोलेस्ट्रोल कम गर्ने औषधिको अनुसन्धान र उत्पादनमा संलग्न छन्। औषधि बजारमा ल्याउने तयारीमा रहेको र सम्बन्धित निकायबाट स्वीकृति प्रक्रियामा रहेको उनले बताए।
विष्णुले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागबाट जैविक रसायनशास्त्रमा एमएससी उत्तीर्ण गरेका हुन्।
उनले दमक बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रूपमा काम गर्दै करिब १० वर्ष पढाए। त्यसपछि थप पढ्न अमेरिका गएका हुन्।
सन् २००९ मा उनी स्नातकोत्तर पढ्न वेस्टर्न इलिनोइस विश्वविद्यालय पुगे। सन् २०११ मा एमएससी पूरा गरेपछि द ओहायो स्टेट युनिभर्सिटीबाट अर्गानिक केमेस्ट्री विषयमा विद्यावारिधि (पिएचडी) गरे।
पिएचडीपछि उनले सन् २०१८ मा युनिभर्सिटी अफ भर्जिनियाबाट मेडिसिनल केमेस्ट्री विषयमा पोस्ट–डक्टरल सके। त्यसपछि विष्णुले औषधि अनुसन्धान क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा अघि बढाएका हुन्।
'मेरो पहिलो काम बायो एसआरक्यू कम्पनीमा सिनियर साइन्टिस्टबाट सुरू भयो,' उनले भने।

फ्लोरिडामा रहेको यो कम्पनीले विशेषगरी अल्जाइमर्स सम्बन्धी औषधि अनुसन्धानमा काम गर्छ। उत्पादनका लागि भने अन्य कम्पनीसँग सहकार्य गरेको थियो।
विष्णुले सन् २०२० सेप्टेम्बरसम्म त्यहाँ काम गरे। त्यसपछि हाल काम गरिरहेको मर्क फर्मास्युटिकल्समा आवद्ध भएका हुन्।
'नेपालमा मर्क फार्मास्युटिकल्सका बिसिजी, दादुरा, ठेउला, निमोनिया तथा एचपिभी भ्याक्सिन पाइन्छन्,' उनले भने।
उनका अनुसार मर्क फर्मास्युटिकल्सले सन् २००८ मै एचपिभी भ्याक्सिन (विभिन्न किसिमका क्यान्सर विरूद्धको) उत्पादन गरेको थियो। तर उक्त भ्याक्सिन अपेक्षा अनुसार प्रभावकारी हुन सकेन।
समयक्रममा एचपिभी परिवर्तन हुँदै उच्च जोखिमयुक्त भए। त्यसैले अहिले सबै भेरियन्टलाई समेट्ने तथा उच्च जोखिमयुक्त प्रजातिहरूबाट हुने संक्रमणको रोकथाम गर्ने उद्देश्यले नयाँ भ्याक्सिन विकास गरेको उनले बताए।
'पहिला पनि उत्पादन गरेको थियो तर प्रभावकारी भएन,' उनले भने, 'म कम्पनीमा आएपछि हामीले अनुसन्धान गरेर यो एचपिभी भ्याक्सिन निकालेका हौं।'
हाल नेपालमा १० देखि १४ वर्षका किशोरीलाई एचपिभी खोप (पाठेघर मुखको क्यान्सर विरूद्ध) लगाउने सरकारको कार्यक्रम छ। तर यो खोप पुरूषलाई पनि आवश्यक हुने उनी बताउँछन्।
'यस भाइरसका कारण पुरूषमा घाँटी, टाउको र मलद्वार सम्बन्धी क्यान्सर पनि हुन सक्ने अनुसन्धानले देखाएको छ,' उनले भने, 'अर्कातिर एचपिभी संक्रमण मुख्य गरी पुरूषबाट सर्ने र महिलालाई केन्द्रबिन्दु बनाउने हो। तर यहाँ बुझाउन सकिएकै छैन।'
नेपालमा क्यान्सर सम्बन्धी सचेतना अझै कमजोर रहेको उनको अनुभव छ। त्यसैले दुर्गम क्षेत्रहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ।
'म एक वर्षपछि नेपाल आउँछु। सचेतना कार्यक्रमका लागि अफिसले दुई साता बिदा दिन्छ,' विष्णुले भने, 'काठमाडौं उपत्यकाका केही स्कुलमा कार्यक्रम गरिसकेको छु। अब दुर्गम जिल्लामा जाने योजना छ।'