२८ नोभेम्बरमा भिक्टोरियामा हुने राज्य निर्वाचनका लागि नेपाली मूलका शंकर धरेल चुनावी मैदानमा छन्।
उनी लिबरल पार्टीबाट उत्तरी महानगरीय क्षेत्र (नर्दन मेट्रोपोलिटन रिजन) बाट उम्मेदवार छन्।
भिक्टोरियाको राज्य निर्वाचनमा लिबरल पार्टीबाट नेपाली मूलका व्यक्तिले उम्मेदवारी पाएको यो पहिलो भएको उनको दाबी छ।
'योभन्दा अगाडि लिबरल पार्टीबाट भिक्टोरियाको चुनावी मैदानमा कोही नेपाली हुनुहुन्थ्यो जस्तो मलाई लाग्दैन,' उनले सेतोपाटीसँग कुरा गर्दै भने।
धरेलले लिबरल उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन पाउँदा खुसी लागेको बताए। अब त्यहाँका स्थानीय समुदायलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।
महँगी नियन्त्रण, अपराध नियन्त्रण लगायत काममा सक्रिय हुने उनले बताए।
समुदायका अझै धेरैभन्दा धेरै कुराहरू सुनेर अघि बढ्ने उनको भनाइ छ।
'अहिले म यहाँको नागरिक हुँ। नेपाली मूलको भएका हैसियतले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन र आर्थिक रूपमा आवश्यक साथ सहयोगलाई थप मजबुद बनाउन पनि मेरो ध्यान केन्द्रित रहन्छ,' उनले भने।
चितवनमा जन्मिएका धरेल सन् २०१३ मा अस्ट्रेलिया गएका हुन्।
लामो समयदेखि मेलबर्नमा रहेका उनी शिक्षा, आप्रवासन तथा कानुन क्षेत्रमा सक्रिय छन्।
दशकभन्दा लामो समयदेखि आफू अस्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा तथा माइग्रेसन क्षेत्रमा कार्यरत रहेको उनले बताए।
उनी अस्ट्रेलियाको माइग्रेसन एजेन्ट पनि हुन्। कन्सल्टेन्सी पनि चलाउँछन्।