पढाइ सकेपछिको दीक्षान्त समारोह (ग्र्याजुएसन) मा आमाबुबालाई अस्ट्रेलिया बोलाउने विप्रल खतिवडाको योजना थियो।
स्नातक तहको पढाइ सकिन अब ६ महिना मात्रै बाँकी भएकाले लामो समयपछि आमाबुबासँग हुने त्यो भेटलाई लिएर उनी उत्साहित थिए।
दीक्षान्तपछि स्नातकोत्तर तह (मास्टर्स) को पढाइ अघि बढाउने र त्यसपछि नेपालमा रहेकी प्रेमिकासँग बिहे गरेर उनलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया ल्याउने— उनका योजनाहरू एकपछि अर्को गर्दै बुनिँदै थिए।
तर अस्ट्रेलिया सरकारले अघि सारेको नयाँ नीतिले उनको योजना भताभुंग हुने मोडमा आएको छ। अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थीले परिवारका सदस्य ल्याउन नपाउने नयाँ नीति प्रस्ताव गरेको छ।
ग्र्याजुएसनको खुसी आमाबुबासँग साट्ने र त्यसपछि जीवनसाथीसँगै अस्ट्रेलियामा नयाँ यात्रा सुरू गर्ने उनको योजना अब के हुन्छ भन्ने टुंगो छैन।
'आमाबुबालाई बोलाउने योजना थियो। त्यसपछि नेपाल गएर प्रेमिकासँग बिहे गरी उनलाई पनि अस्ट्रेलिया ल्याउने कुरा थियो,' विप्रलले भने, 'यो नीति लागू भयो भने आमाबुबा आउन पाउनुहुन्न। प्रेमिकाले पनि कुर्नुपर्ने भयो।'
पढाइ सकेपछि टिआर (टेम्पोररी रेसिडेन्ट) मा हुँदा पनि प्रेमिकालाई ल्याउन पाइएन भने पिआर (पर्मानेन्ट रेसिडेन्ट) भएपछि मात्रै ल्याउने अवस्था हुने उनी बताउँछन्।
त्यस बेला आमाबुबा अस्ट्रेलिया आउन पाए पनि ग्र्याजुएसनमा सँगै हुने अवसर गुमिसकेको हुनेछ।
'आमाबुबालाई छोराछोरी ग्र्याजुएट भएको हेर्ने रहर हुन्छ। त्यो अवसर फेरि फेरि आउने पनि होइन। पिआर भएपछि उहाँहरू आउनुभयो भने ग्र्याजुएसनको त्यो महत्त्वपूर्ण पारिवारिक क्षण त छुटिसकेको हुन्छ,' विप्रलले भने।
अस्ट्रेलियाले अघि सारेको यो व्यवस्था लागू भइसकेको छैन। प्रस्तावित नीतिबारे अझै बहस र छलफल हुन बाँकी छ। त्यसैले यो नै अन्तिम निर्णय होइन।
'बहस–छलफल भएर नीति नबनाएसम्म त लागू हुँदैन,' उनले भने, 'तर यही व्यवस्था लागू भयो भने परिवारसँग भेट हुनै गाह्रो हुन्छ।'
हेटौंडाका विप्रलले ललितपुरस्थित एड्भान्स एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेका हुन्। थप अवसरको खोजीमा उनी अस्ट्रेलिया पुगेका हुन्।
सन् २०२३ मा अस्ट्रेलिया गएपछि उनी ब्याचलर अफ साइबर सेक्युरिटी पढ्न थाले। तीन वर्षे यो कोर्सको अहिले अन्तिम सेमेस्टरमा छन् उनी। उनले पढाइसँगै विभिन्न काम गर्दै आफ्नो खर्च जुटाउँदै आएका छन्।
'काम त सुपरमार्केट, क्लिनिङ, किचन हेल्पर सबै गरेँ,' उनले भने, 'अहिले भने डिसेबिलिटी सपोर्ट वर्करका रूपमा काम गरिरहेको छु।'
विप्रलको जस्तै सलिना गौतमको पढाइ पनि अन्तिम चरणमा छ। उनको पढाइ पूरा हुन अब ६ महिना बाँकी छ।
उनको पनि ग्र्याजुएसनमा आमाबुबालाई अस्ट्रेलिया बोलाउने योजना थियो।
'परिवार ल्याउन नपाउने भनेपछि मानसिक दबाब परेको छ। आमाबुबालाई आफ्नो कर्मथलो घुमाउने रहर कसको हुँदैन र? त्यसमाथि पहिले पनि परिवार ल्याउन धेरै आम्दानी देखाउनुपर्थ्यो। अहिले त ल्याउनै नपाउने नीति ल्याउन लागियो,' सलिनाले भनिन्।
अस्ट्रेलियाले बेला बेला ल्याउने नयाँ आप्रवासी नीतिले विद्यार्थीलाई पढाइ र करिअरसँगै परिवारका योजनाबारे पनि सोच्नुपर्ने अवस्था बनाएको उनी बताउँछिन्।
'ग्र्याजुएसनमा बुबाआमा ल्याउने सोचेकी थिएँ। यहाँको नीतिले त विद्यार्थीलाई भविष्य कि परिवार रोज्ने भन्ने जस्तो बनाइसक्यो,' उनले भनिन्, 'यसले मानसिक स्वास्थ्यमा पनि असर पर्छ। फ्यामिली सेपरेसन हुने भयो।'
सन् २०२२ अगस्टमा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेकी सलिना अहिले पढाइसँगै पार्टटाइम काम गरिरहेकी छन्।
नर्सिङ होममा सातामा २४ घन्टा काम गर्ने उनले पढाइ र बसाइ खर्च आफै व्यवस्थापन गर्दै आएकी छन्। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खर्च धान्न सजिलो नभए पनि पढाइसँगै काम गर्दा नयाँ अनुभव र अवसर पाउने उनको अनुभव छ।