धादिङका पवन ढकाल प्रवीणता प्रमाणपत्र तह (प्लस–टू सरह) पास गरेर सन् १९९९ मा जर्मनी पुगे। उनी सुरूमा मेडिकल शिक्षा पढ्न गएका थिए। तर एक वर्षपछि इन्जिनियरिङतिर लागे।
आज उनी हाइड्रोपावर विज्ञ बनेका छन्। पवन अहिले इटालीको ट्रोयर हाइड्रोपावर कम्पनीमा काम गर्छन्।
९० वर्षभन्दा लामो इतिहास भएको यो कम्पनीले भारतबाट एसिया र अफ्रिकाका लागि काम गर्छ।
'भारतको कम्पनीमा मेरो पनि सेयर छ। त्यहाँको मुख्य व्यवस्थापक मै हुँ,' उनले भने।
पवन ट्रोयरमा सन् २०२० देखि जोडिएका हुन्। भारतबाट भने सन् २०२१ देखि काम सुरू भएको हो।
ट्रोयरमा जोडिनुअघि पवनले अस्ट्रिया तथा जर्मनीका हाइड्रोपावर कम्पनीहरूमा काम गरेका थिए।
सन् २००५ मा इन्जिनियरिङ सकेलगत्तै उनले एयरबसमा काम गरे। सन् २००८ देखि भोइत कम्पनीमा काम गरे। भोइतमा दस वर्ष काम गरे जहाँ डिजाइनको कामबाट सुरू गरेर ग्लोबल मार्केटिङ हेडसम्म भए।
सन् २०१८ पछि कहिले अस्ट्रिया त कहिले जर्मनीका कम्पनीमा काम गरे। सन् २०२० देखि इटालीको ट्रोयरमा काम थाले।
'जति ठाउँ काम गरे पनि विगत १८ वर्षदेखि म हाइड्रोकै क्षेत्रमा सक्रिय छु,' उनले भने।
कहिले डिजाइन, कहिले अपरेसन अनि कहिले मार्केटिङमा काम गरेका पवन हाइड्रोपावर निर्माणकै सिलसिलामा ९० भन्दा धेरै देश पुगिसकेका छन्।
अहिले उनी ट्रोयरको मार्केटिङ र व्यवस्थापन हेर्छन्।
उनका अनुसार ट्रोयरले पेल्टन, फ्रान्सिस र काप्लान टर्बाइन निर्माण, इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, कन्ट्रोल तथा अटोमेसन प्रणाली विकास, हाइड्रोपावर प्लान्टको डिजाइन, निर्माण तथा मर्मतसम्भार सेवा दिन्छ।
'कतिपय उपकरण हामी आफै बनाउँछौं भने कतिपय भेन्डरमार्फत आपूर्ति गर्छौं। जे होस्, हामीले हाइड्रोपावर र पावर हाउस निर्माण गर्दा चाहिने सबै सामग्री उपलब्ध गराउँछौँ,' उनले भने।
नेपालमा पनि उनीहरू १७ वटा आयोजनामा काम गरिरहेका छन्। कतिपय आयोजना सम्पन्न हुने चरणमा छन्।
'नेपालमा भने मैले डिजाइनको बेलादेखिकै काम हेर्ने गरेको छु,' पवनले भने।
हाइड्रोपावर निर्माता कम्पनीसँग सम्झौता भएपछि आयोजनाको क्षमता, यसको भौगोलिक अवस्था लगायत अध्ययन गरेर उपकरण डिजाइन गरिने र त्यसकै आधारमा निर्माण गरिने उनले बताए।
उनले आफ्नै सक्रियतामा विभिन्न दातृ निकायसँग मिलेर धादिङमा नेपाल हाइड्रोपावर एकेडेमी स्थापना गरेका छन्। सन् २०१९ देखि यो एकेडेमीमा तालिम दिन थालिएको छ। यहाँ हाइड्रोपावर सम्बन्धी १५ दिनदेखि ३ महिनासम्मको तालिम दिइन्छ। वेल्डिङ र कार्पेन्ट्रीको पनि पढाइ हुन्छ।
जर्मनीमा पढ्दा प्राक्टिकलमा आफू अलमलिएकै कारण उनलाई यो एकेडेमी सुरू गर्न मन लागेको हो।
'जर्मनीमा मसँगै पढ्ने साथीहरू जति सजिलै सिक्थे, म त्यो सक्दिनथेँ। किनकि मैले यताबाट थ्योरी धेरै पढेर गएको थिएँ। प्राक्टिकल त मेरा लागि कथा जस्तै थियो,' उनले भने, 'त्यही अनुभवले मलाई नेपालमा दक्ष जनशक्ति अभाव छ भन्ने देखायो। त्यसैले यो एकेडेमी स्थापनाका लागि पहल गरेँ।'
उनका अनुसार एकेडेमीमा विभिन्न संघसंस्था र कतिपयले व्यक्तिगत रूपमा समेत सहयोग गरेका छन्।
नेपालमा हाइड्रोपावर आयोजना बन्ने क्रम तीव्र भए पनि दक्ष जनशक्ति नभएकोमा उनको चिन्ता छ। दक्ष जनशक्तिलाई हाइड्रोपावर कम्पनीहरूले तानातान गर्ने तर नेपालीहरू कामका लागि विदेशिने गरेको उनी बताउँछन्।
'दक्ष जनशक्ति अभावमा हाइड्रोपावर क्षेत्र लामो समयसम्म चल्न सक्दैन,' उनले भने।
जर्मनीदेखि प्राविधिक ल्याएर एकेडेमी स्थापना गरेको भए पनि सोचेअनुसार तालिम लिन नआएको उनको गुनासो छ।
'हामीले प्रशिक्षक र जनशक्ति नपाएर भारतबाट ल्याउनुपरेको छ। यहाँ भने सानो कमाइका लागि पनि खाडी जान परिरहेको छ। जर्मनीमा प्राविधिक शिक्षा अर्थतन्त्रको मेरूदण्ड बनिसक्यो। हामीले त्यस्तो गर्न सकेका छैनौं,' उनले भने।
दक्ष जनशक्ति उत्पादन गर्न सके उनीहरूले नेपालमा पनि धेरै गर्न सक्ने र विदेशमा पनि सहज तरिकाले कमाउन सक्छन्। यसमा जनचेतना र सरकारी नीति पनि अभाव भएजस्तो उनलाई लागेको छ।
गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने क्रम बढ्दै गएको भन्दै सरकारले सहज बनाइदिए अझै उत्साह आउने उनी बताउँछन्।
'गैरआवासीय नेपालीलाई नेपालीसरह लगानीको अधिकार, नागरिकताको सहजता अनि बजारका लागि सहजीकरण गर्ने हो भने हाइड्रोपावर क्षेत्रमा लगानी बढ्छ,' पवनले भने।