नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित नेपाल–युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीको ट्युबिङ्गेन विश्वविद्यालयमा सम्पन्न भएको छ।
'नेपालका लागि, नेपालीबाट' भन्ने मूल भावसहित आयोजित सम्मेलनमा नेपाल, जर्मनी, फिनल्यान्ड, डेनमार्क र स्विट्जरल्यान्डका करिब ६० जना वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, इन्जिनियर, प्रविधिविज्ञ, उद्यमी तथा विद्यार्थी सहभागी भएका थिए।
जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था, ट्युबिङ्गेन विश्वविद्यालय, जर्मनीस्थित नेपाली रुट्स संस्था र काठमाडौं विश्वविद्यालय जैविक प्रविधि पूर्वविद्यार्थी सञ्जालको सहकार्यमा आयोजित सम्मेलनको संयोजन अनुसन्धान संस्थाका सहसंस्थापक तथा अध्यक्ष प्रज्वल राजभण्डारीले गरेका थिए।
सम्मेलनमा विज्ञान, प्रविधि, स्वास्थ्य, जीवविज्ञान, जैविक प्रविधि, इन्जिनियरिङ र गणितलगायतका क्षेत्रमा भइरहेका अनुसन्धान तथा प्राविधिक पहलमाथि प्रस्तुति र छलफल भएका थिए।
ट्युबिङ्गेन विश्वविद्यालयका प्राध्यापक ह्याराल्ड ग्रोस र टुर्कु विश्वविद्यालयकी डा. एभेलिना मुनुक्काले पनि अनुसन्धानसम्बन्धी प्रस्तुति दिएका थिए।
सम्मेलनमा विदेशमा कार्यरत नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राविधिक जनशक्तिले नेपालको शैक्षिक, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा कसरी योगदान दिन सक्छन् भन्ने विषयमा विशेष छलफल गरिएको थियो।
नेपाली रुट्स संस्थाका अध्यक्ष डा. कृतन गौतमले संयोजन गरेको 'नेपाली डायस्पोरा र उनीहरूको संलग्नता' सत्रमा जर्मनी, डेनमार्क तथा अन्य युरोपेली मुलुकमा कार्यरत नेपाली विज्ञहरू सहभागी थिए।
छलफलमा नेपालका विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रसँग संयुक्त अनुसन्धान, ज्ञान हस्तान्तरण, विद्यार्थी तथा अनुसन्धानकर्ताको क्षमता विकास र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमार्फत सहकार्य गर्न सकिने सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो।
विदेशमा रहेका नेपाली जनशक्तिको विशेषज्ञता र अनुभवलाई नेपालको आवश्यकता तथा प्राथमिकतासँग जोड्न सके अनुसन्धान, शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा योगदान पुग्ने धारणा सहभागीहरूले राखेका थिए।
सम्मेलनमा काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थीहरूको अनुसन्धान तथा व्यावसायिक अनुभव आदान-प्रदानसम्बन्धी सत्र पनि आयोजना गरिएको थियो।
जर्मनी, फिनल्यान्ड र स्विट्जरल्यान्डमा कार्यरत पूर्वविद्यार्थीहरूले स्वास्थ्य तथा सूक्ष्मजीव अनुसन्धान, जैविक प्रविधि र इन्जिनियरिङलगायत क्षेत्रमा गरिरहेका कामबारे प्रस्तुति दिएका थिए।
सम्मेलनकै अवसरमा नेपालस्थित जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था र जर्मनीस्थित नेपाली रुट्स संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
समझदारीले नेपाल र युरोपमा कार्यरत नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिबीच अनुसन्धान, ज्ञान आदानप्रदान र संस्थागत सहकार्य अघि बढाउन आधार तयार गरेको छ।
यसअन्तर्गत नेपालका शैक्षिक तथा अनुसन्धान संस्था र युरोपका अनुसन्धानकर्ताबीच सम्पर्क विस्तार गर्ने तथा संयुक्त कार्यक्रम र परियोजना सञ्चालनका सम्भावना खोज्ने लक्ष्य राखिएको छ।
आयोजकहरूका अनुसार सम्मेलनको उद्देश्य विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई एकै ठाउँमा भेला गराउनुमा मात्र सीमित छैन।
उनीहरू र नेपालका विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच दीर्घकालीन सहकार्यको आधार निर्माण गर्नु पनि यसको लक्ष्य हो।
सम्मेलनबाट स्थापित सम्पर्क र छलफललाई निरन्तरता दिँदै नेपाल र युरोपबीच विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा ठोस सहकार्य विकास गर्ने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्।