गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रेस संयोजकमा बेलायतमा कार्यरत पत्रकार चिरन शर्मा मनोनित भएका छन्।
संघअन्तर्गतको सूचना, सञ्चार तथा प्रकाशन समितिलाई विस्तार गर्दै अध्यक्ष डा. हेमराज शर्मा र महासचिव चिरञ्जीवी खड्काले मंगलबार जारी गरेको पत्रमार्फत शर्मालाई प्रेस संयोजकको जिम्मेवारी दिइएको हो।
लण्डनलाई कर्मथलो बनाएका शर्मा नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष तथा नागरिक दैनिकका बेलायत संवाददाता हुन्।
गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका शर्मा यसअघि संघको केन्द्रीय समिति सदस्य (अन्तर्राष्ट्रिय समन्वय समिति–आईसीसी) समेत भइसकेका छन्।
एनआरएनएको विधानअनुसार सूचना, सञ्चार तथा प्रकाशन समितिको सभापतिको जिम्मेवारी संघका प्रवक्ता सोम सापकोटाले सम्हाल्ने व्यवस्था छ।
शर्मालाई प्रेस संयोजकसँगै सोही समितिको उपसंयोजकको जिम्मेवारीसमेत दिइएको छ।
यसैगरी संघले मिडिया सल्लाहकारमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार अखण्ड भण्डारी, भगिरथ योगी, रोशन पुरी तथा नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेललाई मनोनित गरेको छ।
एनआरएनएको सूचना तथा सञ्चार गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित समितिलाई विस्तार गरिएको संघले जनाएको छ।