नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि आइसल्यान्डमा रहेका नेपालीले करिब ५० लाख रुपैयाँ सहयोग जुटाएका छन् ।
आइसनेपाली समाजको अगुवाइमा सञ्चालित अभियानबाट ३९ लाख ८८ हजार ५९४ आइसल्यान्डिक क्रोना बराबरको सहयोग संकलन तथा प्रतिबद्धता प्राप्त भएको हो। उक्त रकम नेपाली रुपैयाँमा करिब ५० लाख १९ हजार रुपैयाँ हुन्छ।
समाजका अनुसार संकलित २९ लाख ८८ हजार ५९४ क्रोना (करिब ३७ लाख ६१ हजार रुपैयाँ) गत ५ अक्टोबर २०२६ मा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकिएको छ। यसमा आइसल्यान्डको रोटरी क्लबले प्रतिबद्धता जनाएको थप १० लाख क्रोना (करिब १२ लाख ५८ हजार रुपैयाँ) जोड्दा कुल सहयोग रकम करिब ५० लाख १९ हजार रुपैयाँ पुगेको हो।
आइसनेपाली समाजले अभियान सफल बनाउन आर्थिक सहयोग गर्ने कम्पनी, संघसंस्था, व्यक्तिगत दाता, स्वयंसेवक तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरेको छ।
समाजले एमएस आइसल्यान्ड, सिन्ड्रा फिस्कुर, रोटरी क्लब र हिमालयन स्पाइससहित च्यारिटी कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समाजले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा नेपाली समुदाय एकजुट भई सहयोगमा जुट्नुले आपसी एकता, सद्भाव र मानवीय उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको समाजले जनाएको छ।