समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणाली निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य र निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
सोमबार सम्पन्न नेपाल फुड फोरम २०२५ का सहभागीहरूले कृषि नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सरकार, निजी क्षेत्र, युवा, आदिवासी समुदाय र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गरेका हुन्।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयोजनामा भएको फोरममा कृषि आधुनिकीकरण, युवामुखी नवप्रवर्तन, खाद्य सुरक्षा, ग्रामीण जीविकोपार्जन र दिगो आर्थिक वृद्धिका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले कृषि क्षेत्रमा नवप्रवर्तन, लगानी र समावेशीतामार्फत रूपान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले कृषि खाद्य प्रणाली सुधारमा युवा, महिला र आदिवासी समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। साथै, कृषि लगानी दशक (२०२४–२०३४) अन्तर्गत उत्पादन, प्रतिस्पर्धा र दिगोपनामा सुधार ल्याउन युवाको भूमिका निर्णायक हुने उनले बताए।
एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन शिमिजुले युवाहरू अब विकास कार्यक्रमका लाभग्राही मात्र नभई कृषि खाद्य प्रणाली रूपान्तरणका नेतृत्वकर्ता भएको धारणा राखे।
युवाको नवप्रवर्तनशील सोच, प्रविधि र उद्यमशीलताले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण बेरोजगारीजस्ता चुनौती समाधान गर्न सक्ने उनको भनाइ छ।
फोरममा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर ह्याम्डीले कृषि, पोषण, जलवायु र सामाजिक संरक्षणबीच एकीकृत दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलतासँग जोडिएको दिगो कृषि अभ्यासको महत्त्व औंल्याए।
प्यानल छलफल तथा विषयगत सत्रहरूमा विज्ञान, प्रविधि, डिजिटल नवप्रवर्तन, विपद् जोखिम न्यूनीकरण र मूल्य शृङ्खला विकासका विषयमा छलफल भएको थियो।
युवाले नेतृत्व गरेका कृषि व्यवसाय, कृषि प्रविधि समाधान तथा समुदायमा आधारित पहलहरू विस्तार गर्न वित्तीय पहुँच, बजार सम्पर्क र नीतिगत सहयोग आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
नेपाल फुड फोरम २०२५ ले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबीच सहकार्य सुदृढ गर्दै दिगो, समावेशी र उत्थानशील कृषि खाद्य प्रणाली निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।