यो वर्ष धान उत्पादन ४ प्रतिशत घटेको छ।
कृषि मन्त्रालयका अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गिरावट आएको हो।
प्रारम्भिक अनुमान अनुसार, यस वर्ष नेपालमा धान उत्पादन ५५ लाख ५ हजार १ सय २६ टन पुग्ने अनुमान गरिएको छ।
जुन गत वर्षको तुलनामा ४.२० प्रतिशत कम हो।
यससँगै, धान खेतीको क्षेत्रफल १३ लाख ६७ हजार ७२ हेक्टर मात्र सीमित भएको छ, जुन गत वर्षको १४ लाख २० हजार ६ सय ३६ हेक्टरको तुलनामा ३.८ प्रतिशत कम हो।
कृषि मन्त्रालयले धान उत्पादन घट्नुका कारणलाई बहुआयामिक रूपमा विश्लेषण गरेको छ।
प्रमुख कारणहरूमध्ये पहाडी क्षेत्रको बसाइँसराइ र वैदेशिक रोजगारको आकर्षणले खेतीयोग्य जमिन बाँझो भइरहेको छ भने मधेस क्षेत्रमा खडेरीको असरले पनि उत्पादन घटाएको छ।
सहरी क्षेत्र र तराईमा आप्रवासनका कारण खेतीयोग्य जमिनको खण्डीकरण, औद्योगिक र भौतिक पूर्वाधार निर्माणले पनि क्षेत्रफल घटेको उल्लेख छ।
यसका अतिरिक्त, उन्नत बिउ र मलको उपलब्धता पर्याप्त भए तापनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा कमी आएको बताइएको छ।
यस वर्षको धान उत्पादन तथ्यांकलाई वैज्ञानिक विधिबाट तयार पारिएको दाबी गरिएको छ।
विभिन्न माध्यमबाट प्राप्त तथ्यांक र भूउपग्रह निरीक्षण विधिको प्रयोग गरेर अन्तिम रिपोर्ट तयार गरिएको कृषि मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले जानकारी दिइन्।
नेपालको जिडिपीमा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत रहेको र यसका बीच धानको योगदान १२ प्रतिशत रहेकोले, धान उत्पादनको गिरावटले आर्थिक क्षेत्रमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।