बजारमा छिटफुट रूपमा अंगुर पाइन थालेको छ।
केही सातादेखि बजारमा अंगुर आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए।
'भारतका महाराष्ट, गुजरात, बैंगलोर लगायतका क्षेत्रमाबाट आइरहेको छ,' उनले भने।
उनका अनुसार अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले गरे पनि स्थानीयस्तरमै बिक्री हुन्छ।
अफ सिजन भएकाले अहिले थोरै मात्रामा मात्रै अंगुर आएको उनले जानकारी दिए।
'अब दुई सातापछि अंगुरको आपूर्ति बढ्छ,' उनले भने।
बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छ।
हाल बजारमा हरियो अंगुर होलसेलमा किलोको २ सय २५ र कालो तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
खुद्रा बजारमा भने हरियो अंगुर तीन सय र कालो अंगुर पाँच सय रूपैयाँसम्म कारोबार भइरहेको छ।
'अंगुर छिटो बिग्रने भएकाले खुद्रा व्यापारीले धेरै मूल्य राख्छन्,' उनले भने।
उनका अनुसार अंगुरको सिजन सुरू भएसँगै मूल्य पनि घट्ने छ। फागनुदेखि जेठसम्म अंगुरको मुख्य सिजन हो।
त्यो समयमा हरियो अंगुर प्रतिकिलो एक सयदेखि एक सय ५० रूपैयाँ र कालो अंगुर दुई सयदेखि दुई सय ५० रूपैयाँमा झर्छ।
सिजन र अफसिजनको अंगुरको स्वादमा भने केही भिन्नता हुन्छ।
सिजनमा सबै क्षेत्रका अंगुर गुलियो र मिठो हुन्छ भने अफ सिजनको अंगुरमा हावापानी अनुसार स्वाद फरक पर्ने हुन्छ।