गाई–भैंसीले उत्सर्जनगर्ने हरितगृह ग्यास मा कटौती गर्न उनीहरूको आहार व्याहारमा सुधार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्।
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले शुक्रबार खुमलटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय गाई अनुसन्धान कार्यक्रममा संयोजक देवी अधिकारीले हरितगृह ग्यास उत्सर्जनमा पशुहरूको हिस्सा कारक रहेको बताउँदै यसलाई कटौती गर्न पशुचौपायाको आहार सुधारमा जोड दिएका हुन्।
दानाको सट्टा उच्च गुणस्तरको फाइबरयुक्त आहारव्याहारले मिथेन उत्सर्जनमा कटौती गर्ने धारणा राखे।
‘फाइबरयुक्त घाँस खुवाउनाले मिथेन उत्सर्जनमा कमी आउँछ। हामीले पशुपालक किसानहरूमा त्यही जनचेतना जगाउनुपर्छ,’ अधिकारीले भने।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठले नार्कको क्षमतामा समयानुकूल सुधारको जोड दिए। कृषि क्षेत्रमा विद्यमान समस्याहरूको पहिचान तथा समाधानका उपायहरू पत्ता लगाउन नार्कको भूमिका महत्त्वपूर्ण रहेको भन्दै क्षमता विस्तारमा जोड दिए।
‘कृषकहरूको बालीनालीका कुनै रोग छैन। तर हाम्रो आफ्नै अनुसन्धानमा त्यस्ता समस्या देखिने गरेका छन्,’ उनले समस्या पहिचान गर्दै भने, ‘किसानको बालीमा नदेखिने, नार्कको बालीमा देखिने समस्या के हो? हो हामीले यस्ता कुरामा सुधार गर्न जरूरी छ।’
राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा तुलसी प्रसाद पौडेलले पनि नार्कको क्षमता विस्तारमा जोड दिए। समयानुकूल अनुसन्धान, अन्वेषणमा ध्यान दिनुपर्ने बताउँदै विगतको तुलनामा केन्द्रको क्षमता विस्तार भइरहेको बताए।
अन्तरक्रियामा राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रममा संयोजक पवनकुमार झा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेल, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले प्रस्तुति दिएका थिए।
समृद्ध भविष्यको आधार, जलवायु एवम् प्रकृतिमैत्री विकास भन्ने नाराका साथ शुक्रबा विश्व वातावरण दिवस मनाइएको छ।

-1780661424.jpeg)
-1780661424.jpeg)
