मेगा बैंक नेपाल लिमिटेडले हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टरसँगको सहकार्यमा झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेति गर्नका लागि झापाको दमकमा कार्ड वितरण गरिएको हो।
सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
सम्झौतापछि मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ।
साथै, बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउदै आएको छ। किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन्।
दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरे लगायतको उपस्थिति थियो।