पाँचै दिन लगातार बढेको नेप्से परिसूचक आइतबार दोहोरो अंकले घट्यो।
गत साताभरमा एक सय १५ अंक जोडेको नेप्सेले आइतबार २६.५१ अंकले गुमाएको छ।
गत आइतबार र सोमबार लामो हरियो मैनबत्ती आकृति बनेकोमा पछिल्ला तीन दिन भने स्टार आकृति बनाएको थियो। यही समयदेखि नै लगानीकर्ताहरूमा बजारको वृद्धिलाई लिएर अन्योल रहेको संकेत गरिरहेको थियो।
हुन पनि केही समयदेखि नेप्सेले २६५० देखि २६८० को विन्दुमा प्रतिरोध सामना गरिरहेको थियो। यो विन्दुमा आइपुग्दा नेप्सेमा डब्लू आकृतिले पूर्णता पाएको देखिन्छ। यो तह नेप्सेको लागि बलियो प्रतिरोध नै बनिरहेको छ।
संकेत अनुसार नै आइतबार स्वाभाविक रूपमा नेप्से घट्यो र रातो आकारको मैनबत्ती चित्र आकृति बन्यो।
यसले सम्भवतः केही दिन बजार घट्ने संकेत गर्छ। मैनबत्ती चित्र आकृति छोटो अवधिको प्रवृत्ति विश्लेषणमा बढी सान्दर्भिक हुने भएकाले बजारको केही दिनको कारोबारपछि मात्रै नयाँ प्रवृत्ति देखा पर्ने वा नपर्ने भनेर विश्लेषण गर्न सकिन्छ।

आइतबार नेप्से परिसूचकले अहिले यही क्षेत्रमा प्रतिरोध पाइरहेको मुभिङ एभरेज रेखाले समेत देखाइरहेको छ।
नेप्सेको रेखा चित्रमा बनाइएको दुई सय दिने मुभिङ एभरेज रेखामा प्रतिरोध रहेको देखिन्छ।
यस्ता मुभिङ एभरेज रेखाहरूले प्रवृत्ति परिवर्तनको मात्रै संकेत दिँदैनन्। यी रेखा कहिले बलियो टेवा बनिरहेका हुन्छन् भने कहिले बलियो प्रतिरोध। यो प्रतिरोध पार गरेमा नेप्से परिसूचक थप बढ्नेछ।

बजारले छोटो अवधिमै सय अंक बढी जोडेकाले यो वृद्धिभन्दा अघि बजार पसेका लगानीकर्ताहरू नाफा सुरक्षित गर्न बढी केन्द्रीत भएकाले पनि आइतबार बजार घटेको ब्रोकरहरू बताउँछन्।
अहिले केही कम्पनीहरूले लाभांश घोषणा गरेको र ती कम्पनीहरूबाट लाभांश पाउने समय सकिएको छ।
केही समयदेखि उच्च रकमको कारोबार भइरहेका केही कम्पनीको मूल्य समायोजनपछि बजारमा प्रभाव परेको हो।
हुन त अहिले लगानी गर्दा त्यस्ता कम्पनीबाट लाभांश पाइने अवस्था नबने पनि अझै तिनमा आकर्षण देखिएको छ। कारोबार बढिरहेकै छ। तर ती कम्पनीहरूको लाभांश समायोजनको कारण मूल्य निकै घटेको छ।
बजारमा यस्ता कम्पनीको मूल्य अहिले थप घटेका छन्। यसले पनि प्रभाव परेको हो। लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीको संख्या अझै धेरै छन्। केही कम्पनीहरूले लाभांश नदिने घोषणा पनि गरिरहेका छन्।
यही कारण अहिलेसम्म लाभांश घोषणा हुन बाँकी कम्पनीमा पनि लगानीकर्ताहरू सचेत भएर लगानी गरिरहेका छन्।