नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष ७ खर्ब ६५ अर्ब ७४ करोड रूपैयाँ बराबरका नोट नष्ट गरेको छ।
चलनचल्तीमा पठाउन नमिल्ने झुत्रा, मैला र च्यातिएका नोट बैंकले नष्ट गरेको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले बैंकमा जम्मा गरेका पुराना नोट सट्टाभर्ना गरी नयाँ नोट लिने गर्छन्।
यसरी संकलन भएका नोटमध्ये पुनः चलनचल्तीमा पठाउन नमिल्ने नोट नष्ट गरिन्छ।
नोटमा माटो, धुलो, चिल्लो पदार्थ लाग्ने, पानीले भिज्ने, अक्षर तथा चित्र मेटिने र च्यातिने हुँदा ती नोट प्रयोग गर्न अयोग्य हुन्छन्।
यस्ता नोट कारोबारमा प्रयोग गर्दा असहज हुने र नोटको गुणस्तर तथा सुरक्षासमेत कायम राख्न कठिन हुने भएकाले राष्ट्र बैंकले तिनलाई चलनचल्तीबाट हटाउँछ।
बैंकले अयोग्य नोटलाई मेसिनबाट टुक्र्याएर थिची ब्रिकेट बनाउने प्रक्रिया अपनाउँछ।
यसरी ब्रिकेट बनाइएका नोट पुनः कारोबारमा प्रयोग गर्न मिल्दैन।
राष्ट्र बैंकसँग २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रूपैयाँ बराबरका नयाँ नोट मौज्दात छन्।
अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रूपैयाँ बराबर थियो।
यसअनुसार एक वर्षमा नयाँ नोटको मौज्दात ३७ अर्ब ४२ करोड २६ लाख १ हजार रूपैयाँले बढेको छ।