भारतको बजेट एयरलाइन्स स्पाइसजेट पनि निरन्तर घाटामा गएको छ। भारतकै ठूलो एयरलाइन्स जेट निरन्तरको घाटापछि बन्द भएको घटना पछि अर्को एयरलाइन्सले दैनिक करोडौं नोक्सानी बेहोर्दै आएको छ।
जुलाईदेखि सेप्टेम्बरसम्ममात्र एयरलाइन्सले ४ अर्ब ६२ करोड भारु घाटा बेहोरेको छ।
एयरलाइन्सले बोइङ म्याक्स जहाज लामो समयदेखि ग्राउन्डेड भएपछि नोक्सानी बढ्दै गएको बताएको छ। यद्यपी स्पाइसजेटको घाटा अघिल्लो वर्षको भन्दा १९ प्रतिशतलेमात्र बढेको छ।
बजारको ठूलो खेलाडी जेट बन्द भएपछि बजार आफूतिर आकर्षित गर्ने विश्वास गरिएपनि स्पाइस त्यसमा सफल भएको छैन। सन् २०१९ को पहिलो छ महिनामा एयरलाइन्सले ७ अर्ब २४ करोड भारु घाटा खाएको छ। यसहिसाबले एयरलाइन्स दैनिक ४ करोड भारु घाटामा रहेको समाचारहरु प्रकाशित भएका छन्।
एयरलाइन्सले अघिल्लो वर्षको तुलनामा सञ्चालन आम्दानी भने बढाएको छ। तर खर्च पनि बढ्दा नोक्सानी बढेको हो। भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारहरुका अनुसार एयरलाइन्सले सन् यो वर्षको पहिलो छ महिनामा २८ अर्ब भारतीय रुपैयाँ आम्दानी गरेको थियो। खर्च भने यो अबधिमा ३५ अर्ब भएको छ।
पछिल्लो समय भारतमा आर्थिक मन्दी सुरु भएपछि त्यसको असर एयरलाइन्स व्यापारमा परेको र सँगै लामो समयदेखि बोइङ म्याक्समा समस्या आउँदा घाटा बढीरहेको एयरलाइन्सले जानकारी गराएको छ।
स्पाइसजेटले नेपालमा पुन: उडान सुरु गर्ने तयारी गरिरहेको छ।