यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले अघिल्लो वर्षहरू जस्तै दसैंका लागि खसी–बोका खरिद नगर्ने भएको छ।
विगतका वर्षहरूमा दसैं-तिहार जस्ता चाडपर्वहरूमा खाद्यले दाङबाट खसी–बोका खरिद गरी काठमाडौं पठाउने गर्दथ्यो।
यो वर्ष खाद्यले चिनी र चामल मात्रै सहुलियतमा बेच्दै आएको छ। बजार मूल्यभन्दा चिनी प्रतिकेजी पाँच रुपैयाँ सस्तो र २५ केजीको चामलमा प्रति बोरी एक सय २५ रुपैयाँ सहुलियतमा बिक्री गर्दै आएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरकी प्रमुख तुलामाया लोवाले जेन–जी आन्दोलनबाट सृर्जित अप्ठ्यारो परिस्थितिका कारण यो वर्ष दसैंमा दाङबाट खसी–बोका खरिद गर्ने कार्य प्रभावित हुँदै आएको बताइन्।
खाद्य कम्पनीले यो वर्ष पनि दसैंका लागि खसी–बाख्रा खरिद गर्न जिल्लाको लमही नगरपालिका र गढवा गाउँपालिकामा खरिद केन्द्र स्थापना गरी सकेको भए पनि अन्तिमा खरिद प्रक्रिया रोक्नुपर्ने परिस्थिति आइलागेको बताइन्।
‘जेन–जी आन्दोलनबाट सृर्जित अप्ठ्यारो परिस्थितिका कारण यो वर्षको दसैंका खाद्यले किसानबाट खसी बोका खरिद गरी काठमाडौं पठाउने प्रक्रिया अन्तिममा रोकिन पुगेको हो,’ कार्यालय प्रमुख लोवाले भनिन्, ‘आन्दोलन पछिको अन्यौलताका बीच केन्द्रबाट पनि यो वर्ष दसैंका लागि दाङमा खसी–बोका खरिद नगर्न निर्देशन आएको हुँदा खरिद प्रक्रिया रोक्नु परेको हो।’
देशका विभिन्न ठाउँहरूबाट खाद्य मार्फत खसी बोका खरिद गरी सरकारले चाडपर्वको समयमा आफै सुपथ मूल्यमा सहर बजारमा बेच्दै आएको छ। जसको उद्देश्य व्यवसायीबाट हुने चर्को मूल्य वृद्धि रोक्नका लागि हुन्छ।
गत वर्ष व्यापार खाद्यले दाङबाट दसैंका लागि ६३ लाख ७१ हजार आठ सय आठ रुपैयाँको खसी बोका खरिद गरी काठमाडौं पठाएको थियो। कुल तीन सय ८६ खसी–बोका खरिद पठाएको थियो। जसमा तीन सय ४६ वटा खसी र ४० वटा बोका थिए।
खाद्यान्नले यसअघि व्यावसायिक रूपमा बाख्रा पालन हुँदै आएका जिल्लाका विभिन्न ठाउँका किसानबाट खसी बोका खरिद गर्दै आएको थियो।