अन्तर्राष्ट्रिय बजारमा चौथो औद्योगिक क्रान्ति (इन्डस्ट्री ४.०) को मुख्य इन्जिनका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र गतिमा भइरहेको छ।
नेपालको मुख्य औद्योगिक हबको रूपमा परिचित बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरू भने प्रारम्भिक अटोमेसन र डिजिटलाइजेशनमै सीमित देखिएका छन्।
इन्डस्ट्री ४.०, उत्पादन र औद्योगिक प्रक्रियाहरूमा आधुनिक डिजिटल प्रविधिहरूको संयोजन हो। सन् २०११ मा जर्मनीबाट सुरू भएको यो अवधारणाले ’स्मार्ट फ्याक्ट्री’ निर्माणमा जोड दिन्छ। जहाँ मेसिनहरूले आफै सञ्चार गर्छन्, डाटा विश्लेषण गर्छन् र मानिसको सहयोग बिना नै उत्पादन प्रक्रियालाई सुधार गर्छन्।
प्रविधि क्षेत्रको अनुसन्धान गर्ने बेलायती संस्था अक्सफोर्ड इनसाइटलेले जारी गरेको गभर्नमेन्ट एआई रेडिनेस इन्डेक्सका अनुसार विश्वका १९३ देशहरूमध्ये नेपाल ३०.७७ अंकसहित १५० औँ स्थानमा छ। प्रतिवेदनले नेपालको औद्योगिक तथा सरकारी पूर्वाधारमा एआईको पहुँच, प्रविधिप्रतिको तयारी र कार्यान्वयन क्षमता निकै कमजोर रहेको देखाउँछ।
नेपालमा प्रविधि तथा एआई क्षेत्रमा अध्ययनरत संस्था जुनकिरी ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदन स्टेट अफ एआई इन नेपाल २०२६ का अनुसार नेपालका कुल उद्योगहरूमध्ये करिब २०.७७ प्रतिशत मात्र प्राविधिक रूपमा एआई अपनाउन योग्य (एआई–रेडी) छन् । सूचना प्रविधि क्षेत्रमा यो दर ४५ प्रतिशत रहे पनि उत्पादनमूलक क्षेत्रमा भने ८ प्रतिशतभन्दा कम छ ।
बारा पर्सा औद्योगिक क्षेत्रमा साना, मझौला र ठूला गरी १२ सय भन्दा बढी उत्पादनमूलक उद्योग छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम यहाँका अधिकांश उद्योग परम्परागत ढंगले सञ्चालनमा रहेको बताउँछन्।
‘काठमाडौंका उद्योगमा एआईको प्रयोग भएको होला तर बारा पर्सामा आइसकेको छैन,’ उनले भने, ‘अटोमेसन सिस्टम भने प्रयोग हुन्छ, दराज, साबुनका उद्योगमा कम्प्युटर मार्फत अह्राउँछन्, मेसिनले अन्तिम वस्तु तयार गरिदिन्छ।’
मारुती पेपरले एडभान्स अटोमेसन सिस्टम जडान गरेपछि बारा पर्सा क्षेत्रका १३१ वटा पेपर उद्योग प्रभावित भएको उनी सुनाउँछन्।
अन्तर्राष्ट्रिय अभ्यासः प्रेडिक्टिभ मेन्टेनेन्सदेखि डिजिटल ट्विन्ससम्म
वल्र्ड इकोनोमिक फोरमको विभिन्न औद्योगिक अध्ययन प्रतिवेदनहरूका अनुसार छिमेकी भारत र चीनका ठूला उत्पादनमूलक उद्योगहरूमा एआईको प्रयोगले उत्पादन लागत घटाउन र कार्यक्षमता बढाउन योगदान पुर्याइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मेसिनहरूमा जडान गरिएका ‘आइओटी सेन्सर’ र एआई एल्गोरिदमका माध्यमबाट मेसिन कहिले बिग्रन सक्छ भनेर पहिले नै पत्ता लगाउने ‘प्रेडिक्टिभ मेन्टेनेन्स’ प्रविधि प्रयोगमा छ। यसले मेसिन एक्कासि बन्द भई हुने करोडौँको नोक्सानी हुनबाट रोक्छ।
स्टिल, सिमेन्ट वा कपडा उद्योगमा मानिसको आँखाले देख्न नसक्ने सूक्ष्म त्रुटिहरू सेकेन्डमै पहिचान गर्ने ‘मिसिन भिजन क्वालिटी इन्सपेक्सन’, कारखानाको डिजिटल मोडेल बनाएर परीक्षण गर्ने ‘डिजिटल ट्विन्स’, स्वचालित रोबोटमार्फत गोदाम व्यवस्थापन र फर्मास्यूटिकल्स (औषधि) उद्योगमा नयाँ मोलिक्युल पत्ता लगाउने काममा एआई प्रयोग भइसकेको छ।
बजारको माग पूर्वानुमान गर्ने, गोदाममा स्वचालित रोबोटको प्रयोग गर्ने र डेलिभरी रूटलाई अटोमेट गर्ने काममा एआईको प्रयोग व्यापक छ।
बारा–पर्सामा अटोमेसन र डिजिटलाइजेशनको प्रयोग
बारा–पर्सा करिडोरमा एआई (मिसिन लर्निङ वा प्रेडिक्टिभ एआई) भन्दा पनि अटोमेसन र कम्प्युटराइज्ड प्रणाली (इन्डस्ट्री ३.०) को प्रयोग बढी भइरहेको उद्योगीहरू बताउँछन्।
करिडोरका ठूला स्टिल, सिमेन्ट र बहुराष्ट्रिय कम्पनीहरूमा उत्पादन प्रक्रिया स्वचालित बनाउन ‘स्काडा’ र ‘पिएलसी’ जस्ता रोबोटिक तथा कम्प्युटर कन्ट्रोल प्यानल प्रयोग भइरहेका छन्। त्यस्तै, खाद्यान्न, प्रशोधित तेल र फर्मास्यूटिकल्स क्षेत्रका प्रमुख उद्योगहरूमा बिक्री, मौज्दात र वित्तीय व्यवस्थापनका लागि ‘स्याप’ (क्ब्ए) वा अन्य इआरपी प्रणाली अपनाइएको छ।
यद्यपि, बहुराष्ट्रिय वा ठूला वैदेशिक साझेदार भएका सीमित उद्योगबाहेक अधिकांश स्थानमा मिसिन लर्निङ, प्रेडिक्टिभ मेन्टेनेन्स वा एआई रोबोटिक्सको प्रयोग शून्यप्रायः छ। केही उद्योगले ग्राहक सेवामा बेसिक ’एआई च्याटबट’ र स्वचालित सन्देश प्रणाली भने प्रयोग गर्न थालेका छन्।
निम्बस ग्रुपले स्याप (सिस्टम, एप्लीकसन एण्ड प्रडक्ट इन डेटा प्रोसेसिङ, एस.ए.पी.) सफ्टवेयर प्रयोग गर्दै आएको छ। एस.ए.पी. ठूलो र लोकप्रिय इन्टरप्राइज रिस्योर्स प्लानिङ (इआरपी) सफ्टवेयर हो। यसले विभिन्न व्यापारिक विभागहरू जस्तै लेखा, उत्पादन, र गोदामलाई एउटै केन्द्रीय प्रणालीमा जोडेर सजिलै व्यवस्थापन गर्न मद्दत गरिदिन्छ। एलाइड बिजनेस तर्फका कार्यकारी निर्देशक ओम प्रकाश बैठाका अनुसार एसएपीडेटा विश्लेषणका लागि ‘क्लाउडी र च्याट जीपिटीका प्रिमियम भर्सन’ उद्योगमा प्रयोग गर्ने गरिएको छ।
‘उद्योगमा शारीरिक काम श्रमिकले गर्दै आएका छन्, त्यसको विकल्प भनेको रोबोटिक्स हुन्छ। अर्को प्रविष्टी गर्ने काम हुन्छ, कुन कुन कच्चा पदार्थ कति परिमाणमा आयो, तयारी सामान बिक्रिका लागि पठाएको र लेखा जन्य कार्यमा प्रवृष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न सफ्टवेयरहरूमा अहिले म्यानुअल्ली नै इन्ट्री भइरहेको छ। तेस्रो भनेको विश्लेषणको कार्य हुन्छ। सबैभन्दा बढी एआईको प्रयोग यसैमा गरिरहेका छौं। मध्यम तह र माथिल्लो तहका कर्मचारीले प्रयोग गरिरहेका छौं।’
उद्योगमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्दै व्यवसायमा एआईको प्रयोग गरे कार्य क्षमता बढ्ने र नगरे पछाडि पर्ने उनको बुझाइ छ।
एआई विस्तारका मुख्य चुनौतीहरू
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको नेसनल आर्टिफिसियल इन्टेलिजेन्स पोलिसी, २०२५ मा प्रविधिको विकास र प्रयोगका विभिन्न क्षेत्रहरू समेटिएका छन्। जसमा उद्योग, व्यापार र सेवा क्षेत्रको कार्य क्षमता बढाउन तथा उत्पादनशीलता वृद्धि गर्न एआई प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उल्लेख छ।
नीतिमा औद्योगिक क्षेत्रमा एआई प्रणालीको अनुसन्धान, विकास र प्रयोगलाई बढावा दिने भनिए पनि बारा–पर्सा जस्ता उत्पादनमूलक करिडोरका उद्योगहरूलाई सिधै सहयोग पुग्ने गरी भन्सार छुट, प्रविधि हस्तान्तरण अनुदान वा डिजिटल पूर्वाधार निर्माणसम्बन्धी ठोस र व्यावहारिक कार्यक्रमको भने अभाव देखिन्छ ।
बारा–पर्साका उत्पादनमूलक उद्योगहरूमा एआई प्रविधि विस्तार हुन नसक्नुमा एआई, डाटा साइन्स र आधुनिक अटोमेसन बुझ्ने इन्जिनियर तथा प्राविधिकको अभाव, करिडोरका अधिकांश उद्योगमा आयात गरिएका पुराना मेसिनहरू प्रयोग हुनु रहेको जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने बताउँछन्। जसमा आइओटी सेन्सर र एआई सफ्टवेयर सिधै जोड्न नमिल्ने स्थिति छ।
अर्कोतिर दक्ष जनशक्ति पलायन हुने प्रवृत्तिले उद्योगीले क्षमता अभिवृद्धिमा लगानी गर्न डराउने गरेको उनको अनुभव छ।
‘एआई पढेको बुझेको जनशक्ति छैन, भएको जनशक्तिलाई तालिममा पठायो, सिकायो भने सेवा सुविधा बढी पाउने ठाउँमा हिँडिदिन्छन्,’ अध्यक्ष मोहनले भने, ‘त्यसैले उद्योगीहरू जनशक्तिमा लगानी गर्न हिच्किचाउँछन्।’
एआई प्रविधि जडानमा ठूलो पुँजी लाग्ने तर नेपालको बजार सानो भएकाले उद्योगीहरूले तुरून्तै प्रतिफल पाउने नदेख्दा लगानीको जोखिम लिन नचाहेको व्यवसायीहरू बताउँछन्।
एआई र सेन्सर प्रणाली सञ्चालनका लागि निरन्तर र गुणस्तरीय विद्युत् आवश्यक पर्छ। तर करिडोरमा हुने बारम्बारको लो–भोल्टेज र ट्रिपिङले सामान्य मेसिन नै जोगाउन कठिन हुने गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन्।
सरकारले एआई नीति ल्याए पनि उद्योगहरूलाई डिजिटल रूपान्तरणमा प्रोत्साहन गर्ने गरी कर छुट वा अनुदानको स्पष्ट व्यवस्था नहुँदा पनि उद्योगी व्यवसायीले यसतर्फ आँट गर्न नसकिरहेको उनको तर्क छ।
नेपाली उद्योगहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवलम्बन
औद्योगिक तयारी, चुनौतीहरू, र भावी कार्यदिशा’ शिर्षकमा क्वेष्ट इन्टरनेसनल कलेज, अुसन्धान व्यवस्थापन इकाइका निरञ्जन देवकोटा सहितको समूहले अध्ययन गरेका छन्। अध्ययनको निष्कर्षले देखाए अनुसार एआई प्रविधि अपनाउनका लागि फर्महरूमा प्राविधिक पर्याप्तताको हिसाबले औसतमा २०.७७% उद्योगहरू, व्यवस्थापकीय दक्षताको हिसाबले २९.९१% उद्योगहरू, र मूल्य सिर्जना गर्ने क्षमताको हिसाबले ३९.२३% उद्योगहरू तयार छन् । अध्ययनमा सहभागी ५६% उद्योगहरूले सानो बजारको आकार र दक्ष जनशक्तिको अभाव नै एआई अपनाउनका लागि मुख्य चुनौतीहरू रहेको बताएका छन् । भने ४४% उद्योगीहरूले सरकारबाट पर्याप्त र उपयुक्त सहयोग पाएमा एआई अपनाउन सजिलो हुने धारणा राखेका छन् ।
अबको बाटो उद्योग लक्षित एआई शिक्षा
एआई विज्ञहरूका अनुसार बारा–पर्साका उद्योगहरूले सिधै पूर्ण एआईमा जानुको साटो चरणबद्ध रणनीति अपनाउनुपर्छ।
पहिलो चरणमा पुराना मेसिनहरूमा आइओटी सेन्सर जडान गरी डाटा संकलन सुरू गर्ने, दोस्रो चरणमा इआरपी र सप्लाई चेनलाई पूर्ण डिजिटल बनाउने र अन्तिम चरणमा प्राप्त डाटाका आधारमा ’प्रेडिक्टिभ मेन्टेनेन्स’ र एआई–आधारित गुणस्तर मापन लागू गर्नु नै करिडोरका उद्योगका लागि व्यावहारिक बाटो हुने उनीहरूको बुझाइ छ।
नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जलान एआईको प्रयोग मार्फत कामदारलाई हटाउनभन्दा पनि काम गर्ने क्षमता अभिवृद्धि गरेर मद्दत लिन सकिने बताउँछन्।
‘व्यावसायिक योजना, बजार व्यवस्थापन, प्रतिवेदन तयार गर्न एआई प्रयोग गर्दा छिटो र प्रभावकारी हुने हुन्छ। ठूला बहुर्राष्ट्रिय उद्योगमा मात्रै हैन, सामान्य व्यवसायमा पनि एआई टुल्स प्रयोग गरेर प्रत्यक्ष लाभ लिन सकिन्छ,’ अध्यक्ष इन्जिनियर पंकजले भने, ‘ त्यसका लागि उद्योगले जागिरमा रहेका जनशक्तिलाई नै एआई शिक्षा दिएर क्षमता अभिवृद्धि गर्नुपर्छ।’
उद्योगका सञ्चालक वा नेतृत्व तहमा रहेका व्यक्तिले समेत एआईबारे अध्ययन आवश्यक रहेको उनी बताउँछन्।
उनका अनुसार फाउन्डेसनले एआई र डिजिटल लिडरसिप विषयमा विशेष दक्षता सहितको एमबीए कक्षा सञ्चालन गर्दैछ, त्यसका लागि फाउन्डेसनले ३५ जनाका लागि आधुनिक ल्याब समेत व्यवस्था गरेको छ ।
ड्रकर लिडरसिप एकेडेमीका संस्थापक अध्यक्ष सुमन न्यौपाने सही ढंगले प्रयोग गर्न जान्दा एआईले मान्छेले भन्दा दक्ष र शुद्ध काम गर्ने तर्क गर्छन्।
‘मान्छेले कुनै काम गर्नुपर्दा १० ठाउँबाट तथ्यांक लिनुपर्छ, प्रशोधन, अध्ययन, विश्लेषण गर्नुपर्छ। समय बढी लाग्छ, शुद्ध नहुन सक्छ,’ अध्यक्ष सुमन भन्छन्, ‘त्यही काम एआईले गर्दा छिटो र शुद्ध हुन्छ, मान्छेले दिनभरी लगाएर गर्ने काम एआईले १० मिनेटमै गरिदिन्छ, मेसिन भएका कारण ऊ थाक्दैन पनि।’
एआईले सिक्दै पनि जाने हुँदा आज गरेको काम भोलि थप प्रभावकारी ढंगले गर्ने उनी बताउँछन्।
‘एआई बट मेशिन हो तर त्यसलाई हामी सहकर्मी भन्छौं, एआईमा लगानी गर्दा एक जना कर्मचारी थपे सरह हो तर १०० जनाले गर्ने भन्दा प्रभावकारी काम गर्न सक्छ,’ उनी भन्छन्, ‘अर्कोतिर फरक शैक्षिक डिग्रीसँगै एआई प्रयोगमा दक्ष मानिसले काम पाउने सम्भावना पनि बढेको छ।’
एकेडेमीले बैंकर, इन्जिनियर, इन्स्योरेन्स कम्पनी, पब्लिक फण्ड म्यानेजमेन्ट कम्पनी लगायत विभिन्न क्षेत्रका १ हजार भन्दा बढी कर्मचारीलाई एआई सम्बन्धी तालिम प्रदान गरिसकेको उनी बताउँछन्।