चिउरीको फल पाकेपछि गाउँघरमा त्यसको गुदी खाइन्छ। बाहिरको बोक्रा र भित्रको बियाँ यत्तिकै फालिन्छ।
वर्षौंदेखि जंगलमा खेर गइरहेको त्यही बियाँमा सम्भावना देखेर केही युवाहरूले त्यसबाट घिउ (बटर) निकालेर अन्तर्राष्ट्रिय बजारमा नै पुर्याउन थालेका छन्।
चितवनको योगीकुटीमा रहेको हिमालयन चिउरी आयल प्रालिले चिउरीको बियाँ (दाना) बाट घिउ उत्पादन गर्दै आएको छ। 'चिउरिका' ब्रान्डमा उत्पादित घिउ नेपाली बजारसँगै विश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको छ।
यो उद्योगका संस्थापकहरू प्रकाश अधिकारी, गोविन्द घिमिरे, शम्भुबाबु कोइराला र भक्त हमाल हुन्।
प्रकाश अधिकारीले घिउ तथा तेलसम्बन्धी विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन्। उनीसँग कोरिया, चीन तथा मलेसियाका ठूला पाम आयल कम्पनीमा काम गरेको अनुभव छ।
त्यस्तै गोविन्द घिमिरे जडीबुटी व्यवसायी हुन्। भक्त हमाल विभिन्न उपकरण व्यवसायी हुन्। शम्भु कोइराला सफ्टवेयर इन्जिनियर हुन्।
शम्भु यसअघि अमेरिकाको सिलिकन भ्याली र बोस्टनमा सफ्टवेयर इन्जिनियरका रूपमा काम गर्थे। कृषि क्षेत्रमा काम गर्ने लक्ष्य लिएर सन् २०२१ मा नेपाल फर्किएपछि उनले साथीहरूसँग मिलेर यो उद्योगमा लगानी गरेका हुन्।
'सुरूमा हामी चार जनाको लगानी थियो। पछिल्लो समय सेयरधनीहरू थपिएका छन्,' शम्भुले भने।

उद्योगले विभिन्न ठाउँबाट चिउरीका दाना संकलन गर्छ। पूर्वमा झापा, इलाम, भोजपुर, उदयपुरदेखि पश्चिममा बैतडी, डडेलधुरासम्म पुगेर दाना संकलन गर्ने उनले बताए।
'नेपालमा जति चिउरी छ, हामी दाना किन्न तयार छौं,' उनले भने, 'संकलन गरेर ल्याउनेलाई प्रतिकिलो ७० देखि ८० रूपैयाँसम्म दिन्छौं। खेर जाने दाना गाईबाख्रा हेर्न गएको समयमा टिपेर ल्याउनुभयो भने राम्रो आम्दानी हुन्छ।'
उद्योगसँग सिजनमा एक हजार टनसम्म चिउरी दाना प्रशोधन गरेर तेल निकाल्ने क्षमता छ। तर दाना संकलन कम छ। गत वर्ष मुस्किलले ४० टन संकलन भयो।
चिउरीको दाना पनि बिक्छ भन्ने जानकारी किसान तथा स्थानीय समुदायमा नहुँदा संकलन कम भएको उनको भनाइ छ।
'अहिले हामी गाउँ गाउँ गएर चिउरीको दाना पनि बिक्री हुन्छ भनेर जानकारी गराइरहेका छौं,' उनले भने, 'बिस्तारै मानिसहरूले थाहा पाउन थालेका छन्। अब संकलन पनि बढ्ने अपेक्षा छ।'
अहिले उद्योगले नेपाली बजारभन्दा पनि निर्यातमा जोड दिइरहेको छ। गत वर्ष जापानमा उत्पादन पठाएको थियो।
चीन, ओमान, भारत लगायत मुलुकमा पनि चिउरी घिउको राम्रो बजार छ। अन्य मुलुकमा पनि बजार खोज्ने काम भइरहेको उनले बताए।
उद्योगले अहिलेसम्म एक टन अर्थात् एक हजार किलो जति बटर उत्पादन गरेको छ। त्यसमध्ये ठूलो हिस्सा नमूना र परीक्षणका रूपमा विदेशका विभिन्न कस्मेटिक्स उद्योगहरूमा पठाइएको छ।
'चिउरीको बटर कस्मेटिक उद्योगका लागि उच्च मूल्यको कच्चा पदार्थ बनिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा यसको सम्भावना ठूलो छ,' उनले भने।
चिउरीको घिउलाई कम्पनीले अफ्रिकामा उत्पादन हुने 'शे बटर' सँग तुलना गर्छ। शे बटर अन्तर्राष्ट्रिय कस्मेटिक्स उद्योगमा चर्चित प्राकृतिक कच्चा पदार्थ हो। यो थुप्रै कस्मेटिक सामग्रीमा प्रयोग हुन्छ।
चिउरीको घिउ पनि शे बटर जसरी नै कस्मेटिक्स उद्योगमा प्रयोग गर्न सकिन्छ। शे बटरभन्दा राम्रो गुणस्तरको हुने भएकाले चिउरीको बटर अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो १० देखि १५ अमेरिकी डलरसम्म बिक्री हुने शम्भुले बताए।
उनीहरूले केही समय अगाडि चीनको कस्मेटिक्स शोमा चिउरी प्रवर्द्धन गरेका थिए। भारत र ओमानका बजारबाट पनि राम्रो प्रतिक्रिया पाएका छन्। प्रतिक्रिया सकारात्मक आएकै कारण अब ठूलो परिमाणमा संकलन तथा प्रशोधन गरेर निर्यात गर्ने तयारीमा उनीहरू जुटेका छन्।
हाम्रो घरगाउँमा विभिन्न काममा चिउरीको घिउ प्रयोग गर्ने पुरानै चलन हो। त्यसैले उद्योगले चिउरीको कोल्ड क्रिम, साबुन लगायत कस्मेटिक सामान बनाउने तयारी गरिरहेको छ।
चिउरीको दानाबाट खाने तेल पनि बनाउन सकिन्छ। तर कच्चा पदार्थ धेरै नभएकाले कस्मेटिक्स बजारलाई नै प्राथमिकता दिएको उनले बताए।
उनीहरूले उद्योगमा सुरूमा चार करोड रूपैयाँ लगानी गरेका थिए। थप्दै जाँदा जग्गा, भवन, मेसिनरी र प्रविधिलगायतमा गरी लगानी ६ करोड रूपैयाँ हाराहारी पुगेको छ।
हाल पाँच जनाले रोजगारी पाएका छन्। चिउरी मौसममा आधारित भएकाले स्थायी कर्मचारी धेरै राख्नुपर्ने अवस्था छैन। अप्रत्यक्ष रूपमा भने ५०–६० जना जोडिएका छन्।
'उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सके यसबाट सिर्जना हुने प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी अझै ठूलो हुनेछ,' शम्भुले भने।