नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुज अब युवा पुस्ताको मन जित्ने तयारीमा जुटेको छ।
यसका लागि कम्पनीले युवालक्षित केही मोडलका जुत्ताहरू सार्वजनिक गरेको छ।
युवालक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादन बजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमा स्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ।
बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा शिखर सुजले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँ पुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो।
कम्पनीले डिजाइनमा नयाँपन ल्याउँदै आरामदायी र टिकाउ जुत्ता उत्पादनमा विशेष ध्यान दिएको बताएको छ।
'हामी बजारमा बिक्ने मात्र होइन, वर्षौं टिक्ने जुत्ता बनाउने लक्ष्यका साथ अघि बढेका छौँ,' शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, 'आकर्षक डिजाइनसँगै आरामदायी र बलियो जुत्ता बनाउनु हाम्रो प्राथमिकता हो।'
युवाहरू जुत्ता किन्दा डिजाइनसँगै आराम र टिकाउपनलाई पनि उत्तिकै महत्त्व दिने भएकाले कम्पनीले तीनवटै पक्षमा सन्तुलन मिलाउने प्रयास गरिरहेको उनले बताए।
केवल देखावटी डिजाइनले मात्र उपभोक्ताको विश्वास जित्न नसकिने भएकाले गुणस्तरमै जोड दिइएको उनको भनाइ छ।
शिखर सुजले विगतदेखि नै नेपालमा जुत्ता निर्माणमा आफ्नै मौलिकता कायम राख्दै आएको छ।
तीन दशकको यात्रामा कम्पनीले नेपाली बजार र उपभोक्ताको आवश्यकता बुझेर उत्पादन गर्दै आएको अध्यक्ष प्रसाईंको भनाइ छ।
उनका अनुसार यही अनुभव नै कम्पनीको सबैभन्दा ठूलो बल हो।
आगामी दिनमा शिखर सुज थप परिष्कृत स्वरूप र शैलीसहित बजारमा देखिने प्रसाईंले बताए।
नयाँ डिजाइन, गुणस्तरमा सुधार र उपभोक्तासँगको निकटता बढाउँदै कम्पनी आफ्नो बजार विस्तार गर्ने योजनामा रहेको छ।
तीन दशकको अनुभव र नयाँ पुस्ताको रुचिअनुसारको डिजाइनलाई एउटै धागोमा उन्दै शिखर सुज परम्परा र नवीनताको संगम बन्ने प्रयासमा छ।
'हाम्रो लक्ष्य युवाले एकपटक लगाएपछि फेरि पनि शिखर सुजलाई नै रोज्ने बनाउनु हो,' प्रसाईंले भने।