वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ।
गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए।
जबकि गत आर्थिक वर्षको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न ५ अर्ब ८३ करोडको आयात भएको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।
त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ।
चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।
त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ।
२७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।