अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन्।
लगानी बोर्डमार्फत करिब ३ हजार मेगावाटका आयोजना विकास गर्न आवश्यक सहजीकरण गरिनेछ।
आगामी वर्ष जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल १,०४० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थपिनेछ। यससँगै कुल जडित क्षमता ५,५३५ मेगावाट पुग्ने अनुमान गरिएको छ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना यसै वर्ष सम्पन्न गरिनेछ।
तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशूली बी र बूढीगण्डकी आयोजनालाई तीव्रता दिने योजना रहेको छ।
१,०६१ मेगावाटको माथिल्लो अरुण, ८२८ मेगावाटको उत्तरगंगा, २१० मेगावाटको चैनपुर–सेती, ९९ मेगावाटको तामाकोशी र ७७ मेगावाटको घन्से खोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुणगाड र २८१ मेगावाटको नौमेरे आयोजनाको अध्ययन प्रक्रिया अघि बढाइनेछ।