सरकारले 'भिजन काठमाडौं २०४०' नामक दीर्घकालीन सहरी विकास योजना सुरू गर्ने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौं उपत्यकाको समग्र सहरी व्यवस्थापनका लागि एकीकृत पूर्वाधार विकास योजना अघि बढाइने बताएका हुन्।
योजना अन्तर्गत अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी करिडोर पूर्वाधार, पार्क निर्माण, फोहरमैला व्यवस्थापन, युटिलिटी डक्ट तथा विद्युतीय तार भूमिगत गर्ने जस्ता संरचनागत सुधार गरिनेछ।
यस्तै, काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन, चार्जिङ स्टेसन विस्तार, ट्र्याकिङ प्रणाली, स्मार्ट बसपार्क तथा सुदृढ संस्थागत व्यवस्थासहित 'स्मार्ट अर्बन मोबिलिटी' कार्यक्रम छिट्टै सुरु गरिनेछ।
यसैगरी, पोखरामा पनि सार्वजनिक यातायातलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने उद्देश्यसहित 'ई–मोबिलिटी सेवा' सञ्चालन गरिने अर्थमन्त्री वाग्लेले बताए।