नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अवकाशको सेवा अवधि र पेन्सन अवधीबीचको अन्तरबारे पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४को बजेट भाषण गर्दै दुई सुरक्षा निकायमा हुने सेवा अवधि र पेन्सनको अवधिबारे अध्ययन गर्ने बताएका हुन्।
‘प्रहरी र सशस्त्र प्रहरीबीच अवकाशको सेवा अवधि र निवृत्तिभरणको सुरू हुने अवधिबीचमा हुने विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अधययन गर्नेछौं,’ उनले भने।
प्रहरीलाई अनुसन्धान र अभियोजन गर्नका लागि प्रविधिसँग जोड्ने पनि उनले बताए।
‘नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रणालीलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनेछौं। विधि विज्ञान प्रयोगशाला, अनुसन्धानमा कृतिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधारमा लगानी वृद्धि गर्नेछौं,’ उनले भने।
सशस्त्र प्रहरी बललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यवसायिक फोर्सको रूपमा विकास गर्ने उनले जानकारी दिए।
त्यसैगरी कारागार सुदृढीकरण र क्षमता विस्तार तथा खुला कारागारको अवधारणालाई कार्यान्वयन गरी सुधार गृहको रूपमा रूपान्तरण गर्दै लगिने उनले बताए।
नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै २ अर्ब बिनियोजन गरेको पनि उनले जानकारी दिए।