सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने र मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित रहने विश्वास व्यक्त गरेको छ।
सरकारले गत आर्थिक वर्ष २०८१-८२ र चालु आर्थिक वर्ष २०८२-८३ को लागि पनि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुधार र रूपान्तरणका कार्यक्रमहरूको प्रभावस्वरूप उच्च आर्थिक वृद्धि हासिल हुने अपेक्षा गरिएको बताएका हुन्।
उनका अनुसार बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रमहरूको कार्यान्वयनलाई सघाउन नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ।
सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यी कार्यक्रमहरूको इमानदार कार्यान्वयनमार्फत आगामी पाँच वर्षभित्र नेपाललाई सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरण गर्ने तथा सोह्रौं योजना र दिगो विकासका अधिकांश लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको अर्थमन्त्री वाग्लेले बताए।