युनियनपे इन्टरनेसनलका क्षेत्रीय नवप्रवर्तनशील उत्पादन विभागका वरिष्ठ प्रमुख औ चोङ वेई (क्याल्भिन) ले डिजिटल भुक्तानी इकोसिस्टममा सहभागी हुँदा संस्थाहरू केवल भुक्तानी स्वीकार्ने माध्यममा सीमित हुन नहुने बताएका छन्।
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाले आफूलाई सामान्य वितरण च्यानलका रूपमा मात्र सीमित राख्दा दीर्घकालीन रूपमा मूल्य सिर्जना गर्न नसक्ने बताए।
उनका अनुसार बैंकहरूले आफ्नो विश्वास, कोष व्यवस्थापन र ट्रेजरी सेवाको विशेषज्ञता प्रयोग गर्नुपर्ने हुन्छ भने वित्तीय प्रविधि कम्पनीहरूले ग्राहक संलग्नता र प्रयोगकर्ता अनुभव सुधारमा आफ्नो विशिष्ट मूल्य निर्माण गर्नुपर्छ।
विश्वव्यापी भुक्तानी सञ्जालहरूले स्थानीय प्रणालीलाई अन्तरसञ्चालन, सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डमार्फत मजबुत बनाउन सक्ने उनको भनाइ थियो।
वेईले रणनीतिक सफलता केवल साधारण कार्य गरेर सम्भव नहुने उल्लेख गर्दै उच्च मूल्यका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए।
उदाहरणका रूपमा शाखामा उपस्थित भएर कागजातमा हस्ताक्षर गर्नुपर्ने प्रक्रियाको सट्टा फोनमार्फत नै विद्युतीय ग्राहक पहिचान प्रणाली प्रयोग गर्नुजस्ता समाधानलाई उनले बढी मूल्यवान बताए।
उनका अनुसार युनियनपे जस्ता संस्थाहरूले 'सञ्जालहरूको सञ्जाल' को रूपमा काम गर्दै स्थानीय भुक्तानी प्रणालीलाई विश्वव्यापी पहुँचसँग जोड्ने काम गरिरहेका छन्।
थाइल्याण्ड र लाओसजस्ता देशहरूमा राष्ट्रिय भुक्तानी स्विच निर्माणमा सहयोग गर्नुका साथै पुरस्कार तथा क्यासब्याक प्रणाली साझा गर्ने कामले स्थानीय इकोसिस्टमलाई विस्तार गर्न मद्दत गरेको उनले बताए।
भुक्तानी सञ्जालमा जोडिँदा स्थानीय व्यापारीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट सहज रूपमा भुक्तानी प्राप्त गर्न सक्ने र यसले पर्यटन तथा व्यापार दुवैमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
उनले सबैभन्दा ठूलो आर्थिक प्रभाव लेनदेन डेटाको उपयोग भएको उल्लेख गर्दै त्यसले व्यापारीको कर्जा मूल्यांकन सुधार गर्न मद्दत गर्ने बताए। जसका आधारमा बैंकहरूले कृत्रिम बौद्धिकता प्रयोग गरी कर्जा प्रवाह गर्न सक्ने उनले बताए।
वेईका अनुसार नयाँ युगमा डेटा सबैभन्दा महत्वपूर्ण स्रोत बनेको छ।
कृत्रिम बौद्धिकतामार्फत ग्राहकको खर्च गर्ने बानी र स्थान पहिचान गरी उपयुक्त छुट तथा उत्पादन लक्षित गर्न सकिने र यसले बिक्री वृद्धि तथा सेवा विस्तारमा सहयोग पुर्याउने उनको धारणा थियो।
उनले कृत्रिम बौद्धिकता केवल ठूला बजेट भएका संस्थाको मात्र पहुँचमा रहेको धारणा गलत भएको बताए।
खुला प्रविधिका कारण साना तथा ठूला दुवै संस्थाले समान रूपमा यसको प्रयोग गर्न सक्ने अवसर पाएको उनले उल्लेख गरे।
वेईले भविष्यको भुक्तानी प्रणाली 'एजेण्टिक इ–कमर्स'तर्फ उन्मुख भएको बताए। जहाँ कृत्रिम बौद्धिक एजेन्टहरूले ग्राहकको निर्देशनअनुसार स्वतः खरिद गर्न सक्नेछन्।
यस्ता प्रणालीमा विश्वास र सुरक्षाका लागि विशेष संरचनागत ढाँचा आवश्यक हुने उनको भनाइ थियो।
अन्त्यमा उनले प्रविधिको सफलता केवल पहुँचमा नभई संस्थागत मानसिकतामा निर्भर रहने उल्लेख गर्दै सही सोच र दृष्टिकोणले नै डिजिटल रूपान्तरण र वृद्धिलाई गति दिने बताए।