एसियाली विकास बैंक (एडिबी) का नेपालका कन्ट्री डाइरेक्टर अर्नो काश्वोले नेपालले उच्च मूल्य अभिवृद्धि भएका वस्तु तथा सेवा निर्यातमा ध्यान दिनुपर्ने बताएका छन्।
एडिबीले गरेको नेपालको वस्तु तथा सेवा निर्यातसम्बन्धी अध्ययनले नेपालको निर्यात केही सीमित वस्तुमा आधारित रहेको देखाएको उनले बताए।
तर अध्ययनले नेपालमा निर्यात विस्तारको ठूलो सम्भावना रहेको पनि देखाएको उनको भनाइ छ।
नेपालले निर्यातको सम्भावना भएका क्षेत्र पहिचान गरी प्रतिस्पर्धी बजारमा प्रवेश गर्नुपर्ने उनले बताए।
विशेषगरी डिजिटल प्रविधि र पूर्वाधारमा लगानी बढाउँदा निर्यातको लागत घटाउन तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने उनले बताए।
'डिजिटल क्षेत्रमा लगानी बढाउँदा प्रतिस्पर्धी बजारमा प्रवेश गर्न र निर्यातमा लाग्ने लागत घटाउन सहयोग पुग्छ,' उनले भने, 'त्यसैले यस्तो क्षेत्रमा लगानी बढाउन जरुरी छ।'
नेपालले व्यापार विस्तारसँगै उच्च मूल्य भएका वस्तु तथा सेवा निर्यातमा जोड दिनुपर्ने उनले बताए।
यसबाट रोजगारी सिर्जना हुनुका साथै मुलुकमा पुँजी निर्माणमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
नेपालले डिजिटल पूर्वाधार र प्रविधिमा गर्ने सानो लगानीले पनि उच्च प्रतिफल दिन सक्ने उनले बताए।
सूचना प्रविधिलगायतका क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न सके नेपालले विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्ने उनले बताए।
नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन एडिबीले निरन्तर सहयोग गर्दै आएको उनले बताए।