अर्थसचिव डा. घनश्याम उपाध्यायले नेपालको बाह्य क्षेत्र अहिले सहज अवस्थामा रहेको बताएका छन्।
विदेशी लगानी, रेमिटेन्स र मुद्रास्फीतिलगायतका सूचकले नेपालको बाह्य आर्थिक अवस्था सहज रहेको उनले बताए।
'बाह्य रूपमा हामी सहज आर्थिक अवस्थामा छौं,' उनले भने, 'हामीसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति छ। रेमिटेन्स बढेको छ र महँगी ६ प्रतिशतभन्दा तल छ।'
नेपालले बिबी माइनस क्रेडिट रेटिङ पाउनु पनि अन्तर्राष्ट्रिय रूपमा नेपालको अर्थतन्त्र कमजोर नरहेको संकेत भएको उनले बताए।
अन्तर्राष्ट्रिय लगानीकर्ता तथा बजारका दृष्टिले पनि नेपालको आर्थिक अवस्था कमजोर नभएको उनको भनाइ छ।
सरकारले निर्यात विस्तारका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको उनले बताए।
नेपालको आर्थिक गतिविधि विस्तार गर्न सरकारले खर्च बढाउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले पुँजीगत खर्च बढाउनुका साथै पुँजी निर्माणमा जोड दिनुपर्ने बताए।
निर्यात बढाउन निजी क्षेत्रको लगानी र सरकारको नीतिगत सहयोग एकसाथ अघि बढ्नुपर्ने उनले बताए।
उत्पादन र निर्यात क्षमता विस्तारका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै उनले त्यसका लागि सरकारले आवश्यक वातावरण निर्माण गर्ने बताए।
'पुँजी निर्माणका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि जानुपर्ने छ,' उनले भने।