श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरूलाई देशभित्रै रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयारका लागि सरकारले काम गरिरहेको बताएका छन्।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको सरकारी तथा गैरसरकारी निकाय तथा संस्थाको अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री भण्डारीले गोष्ठीमा प्रस्तुत भएको प्राविधिक कार्यपत्रलाई थप परिष्कृत गरी नेपालको आफ्नै तथा विश्व श्रम बजारको माग बमोजिम सिप तथा क्षमता विकासलाई जोड दिए।
मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नु नै पर्ने चुनौतीलाई समाधान गर्न सबै सरोकारवालाहरूले गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए।
उनले भने, 'देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरू छन्, हामीले तालिम दिएर मात्रै हैन, व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सिपको प्रवर्द्धन गर्नु पर्नेछ।'
उक्त कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपालको श्रम बजारमा देखा परेको श्रम बजारको माग र श्रमिकको प्रक्षेपणमा मन्त्रालयले जोड दिएको बताए।
उनले आन्तरिक रोजगार प्रवर्द्धनको दशवर्षे अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेका थिए।
त्यस्तै, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले अहिले देशैभरी स्थानीय तहहरूले सिपमूलक तालिम दिने होडबाजी चलाएको भए पनि तालिम प्राप्त गर्ने व्यक्तिहरूलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जा लगायतका प्रवर्द्धनकारी कामहरू समेत अघि बढाउनु पर्ने बताए।