म्यानपावर कम्पनीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरूङले मलेसिया सरकारले नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरूमा सिण्डिकेट लगाउन लागेको गुनासो गरेका छन्।
मलेसियाले म्यानपावर कम्पनीहरूका लागि तोकेको मापदण्ड अनावश्यक भएको भन्दै असहमती जनाएका हुन्।
उनले विश्व श्रम बजारमा माग र आपूर्ति आवश्यकता, विश्वास, गुणस्तरीय सेवा र मूल्यले निर्धारण गर्ने बताएका छन्।
‘मानौं, कुनै बेरोजगार युवा कुनै एक म्यानपावर कम्पनीबाट मलेसिया जान विश्वस्त भए। ती युवा त्यो म्यानपावर कम्पनीबाट मलेसिया जान चाहन्छन् अब उनी त्यो म्यानपावरबाट किन जान नपाउने?,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
मलेसियाले म्यानपावर छनोट गर्दा कामदार पठाएको संख्याको आधारमा छनोट गर्नु पनि असान्दर्भिक भएको उनको भनाइ छ।
‘कतिपय व्यवसायीले संख्याभन्दा गुणस्तरको काम गरिरहेका छन्। तीन वर्षमा तीन हजार कामदार पठाएको एजेन्सी राम्रो हो र? बढी तलब र राम्रो सेवा सुविधा भएको राम्रो कम्पनीमा ५०० कामदार पठाएको एजेन्सी किन राम्रो हुन सक्दैन?,’ उनले प्रश्न गरेका छन्।
मलेसियाले भनेको १० हजार स्क्वायर फिट क्षेत्रफलको मापदण्डको औचित्य के भन्ने प्रश्न समेत पूर्वअध्यक्ष गुरूङको छ।
१० हजार स्क्वायर फिट क्षेत्रफलभन्दा कम क्षेत्रफलको अफिस कसरी गुणस्तरहीन हुन्छ? भन्ने उनको प्रश्न छ।
कुनै पनि व्यवसायलाई क्षेत्रफल, संख्या, भौतिक संरचना र पुँजीको हिसाबमा मापदण्ड तोकेर बन्देज लगाउने काम खुला अर्थतन्त्र र प्रतिस्पर्धात्मक बजारको विरूद्ध भएको उनले बताए।
यदि, नेपाल सरकारले मलेसिया सरकारको मापदण्डको आधारमा म्यानपावर कम्पनी छनोट गर्न तयार भइ १० वटा कम्पनीले मात्र मलेसिया कामदार पठाउन पाइने निर्णय भएमा अन्य हजार मेनपावर कम्पनीका सञ्चालक, कर्मचारी, तिनका परिवार र लगानी समस्या पर्ने अध्यक्ष गुरूङले उल्लेख गरेका छन्।
नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाले पछिल्लो समय नेपालबाट कामदार पठाउने म्यानपावर कम्पनीहरूका लागि १० शर्त राखेको छ।
अब मलेसियाले तोकिएको मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूबाट मात्रै श्रमिकहरू लैजाने भएको हो।
मलेसियाले नेपालसँगै श्रमिक पठाउने स्रोत मुलुक बंगलादेश, भारत, पाकिस्तान र म्यानमारका म्यानपावरका लागि समेत उक्त शर्त राखेको हो।
मलेसियाले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै नेपालबाट कामदार भर्ना प्रक्रिया र कामदार पठाउन संलग्न म्यानपावर कम्पनीहरू व्यवस्थित बनाउने हिसाबले मापदण्ड तोकेको दाबी गरेको छ।
कामदार भर्ना प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउनका लागि मलेसियाको मानव संसाधन मन्त्रालयले १० वटा मापदण्ड तय गरेको उल्लेख गरिएको छ।
मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालसँग ती मापदण्ड पूरा भएका म्यानपावर कम्पनीहरूको सूची तयार गरी मलेसियाको मानव संसाधन मन्त्रालयमा पेश गर्न अनुरोध गरेको छ।
१५ नोभेम्बर २०२५ भित्र उक्त सूची पेश गर्न मलेसियाको परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो।
मापदण्ड नपुगेका म्यानपावर छनोट नगर्ने अडान पनि मलेसियाले लिएको छ। यो नीतिले नेपाल र मलेसियाबीचको श्रम आप्रवासन प्रणालीलाई नैतिक, पारदर्शी र दीगो रूपमा सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको मलेसियाली परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
यो पनि: अब मलेसिया कामदार पठाउन म्यानपावरले पूरा गर्नुपर्छ यी १० मापदण्ड