नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई ई–वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा यकिन गर्न निर्देशन दिएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकका नाममा वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार परिचयपत्रको विवरण प्रमाणित गर्नुपर्ने भएको हो।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सबै वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वःघोषणा लिनुपर्नेछ।
यसैगरी, सोही अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको यस्तो विवरण सम्बन्धित वालेटमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय परिचयपत्र नलिएका प्रयोगकर्ताको हकमा भने परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
विदेशमै बसेर अनलाइनमार्फत ई–वालेट खोल्ने नेपालीले राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सक्नेछन्।
तर नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्रिय परिचयपत्रको विवरण लिएर प्रयोगकर्ताको विवरण अद्यावधिक गर्नुपर्नेछ।
यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न तथा कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।