नेपाल विद्युत प्राधिकरणले आज (सोमबार) बिहान विश्वकप फुटबल फाइनल खेल सञ्चालन भइरहेको समयमा रूख ढलेका कारण बिजुली गएको जनाएको छ।
विश्वकप चलिरहेको बेला झ्याप्प-झ्याप्प बिजुली जाने आउने गरिरहेको थियो।
करिब १:५४ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकूल मौसमका कारण रूख ढली विद्युत प्रसारण प्रणालीमा आंशिक अवरोध सिर्जना भएको प्राधिकरणले जनाएको हो।
जसकारण प्रसारण सञ्जालमा 'रिङ ब्रेक'हुन गई काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत आपूर्ति प्रभावित भएको उल्लेख छ।
'विश्वकप फुटबलको फाइनल जस्तो विशेष अवसरमा उपभोक्ताहरूलाई निरन्तर र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन प्राधिकरणले उच्च सतर्कता अपनाएको थियो। सोही अनुरूप, सम्पूर्ण सबस्टेशनहरू, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई 'हाइ अलर्ट' मा राखिएको तर पनि निरन्तर वर्षाका कारण उत्पन्न उक्त अप्रत्याशित प्राकृतिक विपत्तिले प्रणालीमा अवरोध सिर्जना भयो,' प्राधिकरणले भनेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल सक्रिय भई वैकल्पिक व्यवस्थामार्फत विद्युत प्रणालीलाई छिट्टै सुरू गरिएको जनाएको छ।
विश्वकप फुटबल हेरिरहेका खेलप्रेमी तथा सम्पूर्ण उपभोक्तामा परेको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।