सोमबार उद्घाटन गरिएको नागढुंगा सुरूङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ।
आयोजनाका उप-निर्देशक सञ्जय पन्थीका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ।
अन्य योग्य सवारीलाई चरणबद्ध रूपमा प्रवेश दिइने पन्थीले बताए।
सुरूङ मार्ग प्रयोग गर्न योग्य सवारी साधनमा कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस जस्ता हलुका सवारी साधनदेखि मिनी बस, मिनी टिपर/ट्रक, बस, ट्रक र अन्य भारी उपकरणका सवारी पर्छन्।
यहाँ मोटरसाइकल, तीनपांग्रे र पेट्रोल, डिजेल, एलपी ग्यास लगायत अत्यधिक प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिएको छ। पैदलयात्रीले पनि सुरूङ मार्गबाट प्रवेश पाउने छैनन्।
पन्थीका नुसार करिब १५ दिनसम्म सुरूङ मार्ग प्रयोग गर्न कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस र अन्य हलुका सवारी साधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ शुल्क तिर्नुपर्ने तोकिएको छ।
त्यस्तै, मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रूपैयाँ, बाहिरिँदा ८० रूपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) लाई प्रति सवारी साधन प्रवेश गर्दा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक/सवारी साधन तथा भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ तोकिएको छ।
नागढुंगा सुरूङ मार्ग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेका थिए।
यो सुरूङ मार्गले काठमाडौंतर्फ बलम्बु र धादिङको सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ। सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दुरी ८ किलोमिटर छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दुरी ५ किलोमिटर हुन्छ। सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किलोमिटर दुरी घटाउन लागिएको हो।
दुरीका हिसाबले सुरूङ मार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङ मार्ग प्रयोगबाट पेट्रोलियम पदार्थको खपत ठूलो परिमाणमा बचत हुने अपेक्षा छ।
सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरू ङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास गरिएको छ। सुरूङ मार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईवटा सुरूङ छन्। रेस्क्यु सुरूङको लम्बाइ २,५५७ मिटर छ। मुख्य सुरूङको दुवैतर्फ सवारी साधन हुन्छन्। दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार गरिन्छ।
उद्धार सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। उद्धार सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ। यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकलजस्ता साधन आवतजावत गर्न सक्छन्।
यो आयोजनामा जापानको झन्डै २२ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रूपैयाँ लगानी छ।
सुरूङ मार्ग सञ्चालनका लागि चिनियाँ संलग्न जोइन्टभेन्चर कम्पनी युक्सिन–एआरटीले जिम्मा पाएको छ।
यो आयोजना निर्माण अप्रिल २०२३ भित्र सक्ने गरी सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो। तर कोभिड महामारी, विभिन्न प्राविधिक समस्या, स्थानीयको अवरोध लगायत कारण निर्माणमा ढिलाइ हुँदा बल्ल आयोजना सञ्चालन आउन लागेको हो।