नेपालको पहिलो आधुनिक सुरूङ मार्गका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङ मार्गको औपचारिक उद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ युगको सुरूआत भएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
सोमबार आयोजित उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्रालय, नेपालका लागि जापानी दूतावास तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का उच्च अधिकारीहरूले यो परियोजनालाई नेपालको आधुनिक पूर्वाधार विकासको ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरेका छन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरूङ मार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरू भएको बताए।
उनले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भए नेपालले महत्त्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने बताए।
नेपालमा सुरूङ पूर्वाधार विकासको सुरूआत मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजना थप विस्तार हुने पनि उनले उल्लेख गरे।
सुरूङ निर्माण क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीबीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरे।
'कठिन भौगोलिक अवस्था हुँदाहुँदै राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भए नेपालले महत्त्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ,' उनले भने, 'यो पहिलो सुरूङ हो, तर अन्तिम होइन।'
नागढुंगा सुरूङ मार्ग सञ्चालनसँगै सिस्नेखोला–बलम्बु यात्रा अब केही मिनेटमा पूरा हुने उल्लेख गर्दै सचिव सिग्देलले वर्षौंदेखि यात्रुहरूले भोग्दै आएको जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट राहत मिल्ने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरूले यो उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल–जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरे।
नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठकै वर्ष यो सुरूङ मार्गको 'ब्रेक थ्रु' हुनुले थप विशेष महत्त्व राखेको राजदूत तोरूले बताए।
हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माण क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको उनले उल्लेख गरे।
वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उनको भनाइ थियो।
जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरूङ मार्गहरूको प्राविधिक ज्ञान यो आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्त्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उनको भनाइ छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले यो आयोजनालाई नेपाल र जापानबीचको प्रगाढ सम्बन्ध र सहयोगको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
सुरूङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय अब ५ देखि ७ मिनेटमा सीमित भएको उनले बताए। यसले सवारी चाप न्यूनीकरण, सडक सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनले उल्लेख गरे।
उनका अनुसार यो आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदारहरू रहेका थिए।